बन्दीपुरमा केबुलकार निर्माण तीव्र गतिमा



तनहुँ : कोभिड–१९ को सङ्कटका बीच तनहुँको बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको कामले गति लिएको छ । केही समय काम अवरुद्ध भए पनि यसपछि निरन्तर काम जारी रहेको छ ।

बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले सङ्कटकै बीचमा पनि कामलाई तीव्र पारिएको जानकारी दिए । उनका अनुसार ८०–८५ जना मजदूर प्रयोग गरीे पूर्वाधार निर्माणलाई तीव्र गति दिइएको छ ।

केबुलकारको तल्लो स्टेसनको भवन निर्माण ८० प्रतिशत सकिएको छ भने माथिल्लो स्टेसनको फाउन्डेसनको काम शुरु भएको छ । चारतारे होटल सहितको ‘क्विन टावर’ को पनि भुइँतल्लाको ढलान शुरु गरिएको छ । “तल्लो स्टेसनमा तीन तल्लाको भवन लगभग सकिने अवस्थामा पुगेको छ, माथिल्लो स्टेसन र क्विन टावरको काम पनि शुरु भएको छ”, अध्यक्ष शर्माले भने, “कहिले सङ्घीय सरकारको बन्दाबन्दी, कहिले स्थानीय सरकारको बन्दाबन्दी काम बीचमा पनि काम भइरहेको छ ।”

उनका अनुसार केबुलकारको टावरका सबै काम सकिएको र केबुलकारको बाक्सा जडान गर्न बाँकी छ । भारतबाट सामग्री ल्याउनुपर्ने भएकाले कठिनाइ भएको उनले जानकारी दिए । “भारतबाट अहिले सामग्री ल्याउन गाह्रो परिरहेको छ, कोभिड–१९ को सङ्कट नभएको भए काम धेरै अगाडि बढिसक्थ्यो”, उनले भने ।

अन्य पूर्वाधार निर्माण जारी रहँदै अगामी फागुनमा केबुलकार सञ्चालन गर्ने तयारी गरिएको थियो । सामग्री ल्याउन नसकिएकाले केबुलकार सञ्चालनको तयारी पनि पछाडि धकेलिने भएको छ । कोभिडको सङ्कटका कारण पूर्वाधार निर्माणको खर्च नबढे पनि अन्य खर्च १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्