बञ्चरे डाँडा ल्याण्डफिल साइड दशैअगाडी नै सम्पन्न हुने



काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने बताएका छन् ।

काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको बञ्चरेडाँडा स्यानीटरी ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताए । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको बताए । कोरोनाका कारण जारी भएको लक डाउनका कारण समस्या देखिएपनि दशैअगाडी नै काम सम्पन्न गर्ने लक्ष्यका साथ निर्माणको काम अघि बढिरहेको उनको भनाई छ ।

आयोजनाका सुपरभाइजर कमल पोखरेलले ८५ प्रतिशतसम्म काम सकिएको बताए । बर्खाको समय र लक डाउनका कारण केही ढिला भएपनि अहिले काम तिव्र गतिमा अगाडी बढीरहेको उनी बताउँछन् । ल्याण्डफिल्डसँग जोडिएका अरु क्षेत्रमा पनि काम अगाडी बढेकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्नेगरी अगाडी बढिरहेको उनले बताए ।

आयोजनाका फिल्ड सुपरभाइजर प्रतिक तामाङले लक डाउन खुलेपछि रफ्तारमा काम अगाडी बढीरहेको बताउनुभयो । असोज अन्तिमसम्म फिल्ड निर्माणको काम सक्ने र कात्र्तिक पहिलो हप्ता सबै काम सम्पन्न गर्नेगरी अगाडी बढीरहेको उनको भनाई छ ।

बन्चरेडाँडाँमा काठमाडौं उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुने छ । बन्चरेडाडाँमा ल्याण्डफिल्ड साइड निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भनिएपनि वर्षौसम्म फोहोर व्यवस्थापन गरिदा ल्याण्डफिल्ड साइड भरिएको छ । स्थानीयले सोही समस्या दोहोरिन सक्ने भन्दै यसअघि पटक पटक निर्माणमा अवरोध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्