जनकपुरका पोखरीहरु लोप हुँदै, भूमाफियाका घर भने सौन्दर्यीकरण



जनकपुरधाम : ५२ कुट्टी र ७२ कुण्डको नामले प्रख्यात जनकपुरधामका ऐतिहासिक एवं पौराणिक महत्वका पोखरीहरूको अस्तित्व संकटमा पर्दै गइरहेको छ ।

भूमाफियाहरूको संलग्नता र विभिन्न मन्दिरका महन्थहरूको व्यक्तिगत स्वार्थका कारण यहाँका ऐतिहासिक पोखरीहरु दिन प्रतिदिन अतिक्रमणको चपेटामा परिरहेका छन् । यस शहर भित्रका अमृत कुण्ड, जनक सरोवर, बलदेव सर, गोपाल सर, धोवीयाही पोखरी, पापमोचनी सर, पयश्विनी सर जस्ता दर्जनौँ पोखरीहरूको अस्तित्व लोप भइसकेका छन् ।

No description available.

विगतमा केन्द्र सरकारले जनकपुरधामका पोखरीहरूको सौन्दर्यीकरणका लागि २ सय करोड रुपैयाँ सहयोग दिएपनि हालसम्म कुनैपनि पोखरीको सौन्दर्यीकरण गरिएको छैन । पैसा कहाँ गयो त्यसको कुनै लेखाजोखा छैन ।

No description available.

नेपाल सरकारले जनकपुरधामका पोखरीहरुको महत्वलाई बुझ्दै ३ वर्ष अगाडी जानकी मन्दिरसँगै तेलहा र मड़हा दूबै पोखरीको सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्याएको थियो । शहरी विकास तथा भवन निर्माण कार्यालयको सघन शहरी विकास कार्यक्रमअन्तर्गत अस्तित्व मेटिन लागिएको यी दुई पोखरीको सौन्दर्यीकरणको काम ठेक्कामा समेत लगायो । तर, स्थानीयवासीले पोखरीको अतिक्रमित जग्गा खाली नगराए सौन्दर्यीकरणको काम अगाडि बढ्न नदिने अडान दोहराएपछि सो पोखरीको सौन्दर्यीकरणको काम रोकिएको थियो ।

त्यस्तै जनकपुरधाम–७ स्थित महाराजसागर पोखरीको सौन्दर्यीकरणका लागि ३ करोड ६१ लाख, वडा नम्बर–२० देवपुरा रूपैठास्थित नोचा पोखरी सौन्दर्यीकरणका लागि ३ करोड ५५ लाख रुपैयाँ छुट्टयाइएपनि पोखरीहरुको अवस्था जस्ताको त्यस्तै छ । तर, पैसा कसको गोजीमा गयो त्यसको कुनै हरहिसाब नै छैन ।

No description available.

ऐतिहासिक महत्वका पोखरीहरुको सौन्दर्यीकरण गर्ने दायित्व स्थानीय सरकारको रहेपनि स्थानीय सरकारले संरक्षण गर्नुको सट्टा उल्टै पोखरीहरुमा माछा मार्ने काम गरेको विगतका कयौं उदाहरणहरु छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का स्थानीय रमेश प्रसाद अधिकारीले भने, ‘जनकपुरधामका अधिकांश पोखरीहरु अतिक्रमणको चपेटामा परिसकेका छन् । सार्वजनिक पोखरी रहेको ठाउँमा अहिले निजी भवनहरु ठड्याइएका छन् । पोखरी सौन्दर्यीकरण हुनुपर्ने ठाउँमा नेता र भूमाफियाहरुको घर सौन्दर्यीकरण गरिएको छ । तर, पोखरीहरु भने अहिलेसम्म सौन्दर्यीकरणको प्रतीक्षा मै छन् ।’ उनले यहाँका दर्जनौं ऐतिहासिक पोखरीलाई स्थानीय सरकारले नजरअन्दाज गरेको दुःखेसो पोखे । अधिकांश पोखरीलाई राजनीतिक प्रभावमा केही व्यक्तिले अतिक्रमण गरी व्यक्तिगत नाममा समेत दर्ता गराइसेको उनको भनाइ छ ।

शहरभित्र बाँकी रहेका ऐतिहासिक पोखरी तथा तालहरु पनि अहिले पर्याप्त संरक्षण नहुँदा अतिक्रमणको चपेटाका कारण सामान्य पोखरीको रूपमा परिणत भईरहेका छन् । संरक्षण र प्रवद्र्धनका लागि वर्षेनी सरकारी निकायबाट रकम विनियोजन भएपनि अतिक्रमणमुक्त हुन सकेका छैनन् ।

No description available.

लामो समयदेखि जनकपुरधामका ऐतिहासिक महत्वका पोखरीहरु अतिक्रमणमा परेको भएपनि राजनीतिक स्थायित्व नहुँदा अतिक्रमणमुक्त गर्न सकिएको छैन ।

यता, अन्य वर्ष झैं यस वर्ष पनि प्रदेश सरकारले पोखरी तथा ताल तलैया संरक्षण एवं सौन्दर्यीकरणको नाममा बजेट विनियोजन गरेका छन् । तर, सो बजेटमा जनकपुर क्षेत्रका करिव ५ दर्जन पोखरी र ताल तलैयामध्ये मात्र ८ वटालाई ग्राह्यतामा राखि रकम छुट्याएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको रातो किताब अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तेलहा–मरहा पोखरी सौन्दर्यीकरणका लागि १ करोड ५० लाख, सिताकुण्डका लागि २५ लाख, धर्नोचानी पोखरीका लागि १० लाख, थुमौना पोखरी सौन्दर्यीकरणका लागि १० लाख र डेब्डिया भोइल सौन्दर्यीकरणका लागि ३० लाख रुपैयाँ छुट्याएको छ ।

No description available.

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले समेत गंगा सागर पोखरी सौन्दर्यीकरण तथा संरक्षणको नाममा ३० लाख, दुधमत्ती नदी सरसफाइ तथा संरक्षणका लागि २० लाख, अग्नीकुण्ड पोखरी सौन्दर्यीकरणका लागि १५ लाख रुपैयाँ छुट्याएको छ । तर, जनकपुरधामका पोखरीहरुको सौन्दर्यीकरण र संरक्षणका लागि प्रदेश सरकारले छुट्याएको रकम समेत सदुपयोग नहुने आशंका गरिएको छ ।

No description available.

प्रकाशित : असोज ४, २०७७

प्रतिक्रिया दिनुहोस्