आईपीएल : सुपर ओभरमा दिल्लीसँग पञ्जाब पराजित



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको खेलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको छ ।

युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो ।

पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा सुरुमा ब्याटिङ गरेका थिए । तर दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराए । पहिलो बलमा रबाडाले २ रन दिए पनि त्यसपछि लगातार २ बलमा २ विकेट लिए ।

दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गर्‍यो । कप्तान श्रेयस अयेर र विकेटकिपर ऋषभ पन्तले दिल्लीका लागि सुपर ओभरमा ब्याटिङ गरेका थिए ।

त्यसअघि मार्कुस स्टोइनिसले विष्फोटक ब्याटिङ गर्दै २१ बलमा ५३ रन बनाएपछि दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएको थियो । अन्तिम ओभरमा मात्रै २५ रन बनाएका स्टोइनिसले ७ चौका र ३ छक्का प्रहार गर्दै २० बलमा अर्धशतक पूरा गरेका थिए । यस्तै कप्तान श्रेयस अयेरले ३९ र ऋषभ पन्तले ३१ रन बनाएका थिए ।

पञ्जावका मोहम्मद शामीले ३ तथा शेल्डन कट्रेलले २ विकेट लिए । १५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले खराब सुरुवात गरेपनि ओपनर मायांक अग्रवालले एक छेउबाट उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए ।

तर अन्तिम ओभरमा दिल्लीका स्टोयनिसले उनै अग्रवाल र क्रिस जोर्डनको विकेट लिएपछि पञ्जाब जित नजिक पुगेर पनि चुकेको थियो । अग्रवालले ६० बल खेल्दै ७ चौका र ४ छक्का मद्दतमा ८९ रन बनाए पनि पञ्जाबलाई जिताउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्