आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देश भर सामान्यतया बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

सोमबार महाशाखाद्वारा जारी विज्ञप्तिमा सोमबार प्रदेश १ र प्रदेश २ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

त्यस्तै राति प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १, २ र बाग्मती प्रदेशका साथै प्रदेश ५का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको महाशाखाद्वारा विज्ञप्तिमा लेखिएको छ ।

यसैगरी मंगलबार प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश १,२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

बुधबार देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले मंगलबारदेखि देशका सबैजसो नदीमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

सोमबार बिहानको मापनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य स्थिर अवस्थामा र सबैमा बहाव सतर्कता तहभन्दा तलै भए पनि मंगलबारदेखि लगातार केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । सोमबार कमला, वाग्मती र यसका सहायक नदीमा बहाव केही बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै कन्काईका केही स–साना नदीमा सोमबार राति आकस्मिक बहाव हुन सक्ने अुनमान पनि महाशाखाले गरेको छ । त्यस्तै प्रदेश एकको संखुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ भई बहने केही स–साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।

त्यस्तै महाशाखाले असोज ६ गते रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७, ८, ९, १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै असोज ७ देखि ११ गतेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित : असोज ५, २०७७

प्रतिक्रिया दिनुहोस्