आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न मुख्यमन्त्रीको आग्रह



काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगन गर्न आग्रह गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई सोमबार पत्र लेख्दै मुख्यमन्त्री राउतले यस्तो आग्रह गरेका हुन् । कोरोनाका अवस्था विद्यमान रहेको र प्रदेश २ कोरोनाले सबैभन्दा प्रभावित प्रदेश २ रहेकाले यस्तो अवस्थामा आधिकारिक ट्रेड युनियनको निर्वाचन गर्न उपयुक्त नुहने मुख्यमन्त्री राउतले उल्लेख गरेका छन् ।

निजामती कर्मचारीहरुबीच थ्रेसहोल्डको विवाद रहेको र सो विवादउपर सर्वाेच्च अदालतमा रिट निवेदन परी सर्वाेच्च अदालतमा विधाराधीन रहेको अवस्थालाई ध्यानमा राखेर तत्काल निर्वाचन स्थगनको आग्रह गरिएको उनको पत्रमा उल्लेख छ । यही आउँदो असोज २४ गते निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुँदैछ ।

निर्वाचनमा थ्रेसहोल्डको प्रावधान राखिएपछि सीमान्तकृत समुदायमा निजामती कर्मचारीहरुको प्रतिनिधित्व नहुने भन्दै नेपाल मधेशी निजामती कर्मचारी मञ्चले विरोध गर्दैआएका छन् । मञ्च आवद्ध कर्मचारीले तराईमधेशका कतिपय जिल्लामा युनियनको निर्वाचन कार्यालय स्थापना गर्नसमेत दिएका छैनन भने स्थापना भएका कतिपय स्थानका निर्वाचन कार्यालयको ब्यानर र साइनबोर्ड उखेलिदिएका छन ।

प्रतिक्रिया दिनुहोस्