मध्य सोलु हाइड्रोपावरको काम दशैँ अगावै



सोलुखुम्बु : सोलु खोलामा ९।५ मेगावाटको मध्य सोलु हाइड्रो पावर निर्माणको काम दशैँअगाडि नै शुरु हुने भएको छ । सो आयोजनाको बारेमा निर्माण कम्पनीले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको छलफल कार्यक्रममा वातावारण प्रभाव मूल्याङ्कन स्वीकृत भएकाले दशैँअघि नै निर्माण कार्य शुरु हुने जानकारी दिइयो ।

आयोजनाबाट नगरपालिकाका वडा नं ३, ४, ५ र ६ प्रभावित हुने भएकाले सामाजिक उत्तरदायित्वको रकम सोही क्षेत्रमा खर्च गरिने लगानीकर्ता रमेशराज गौतमले जानकारी दिए । छलफलमा सहभागीले स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम अगाडि बढाउन आग्रह गरेका थिए । स्थानीय नागरिकलाई खबरै नगरी सार्वजानिक सुनुवाइ गरिएको भन्दै सोलुदूधकुण्ड नगरपालिका­ ६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले आपत्ती जनाएका थिए ।

आयोजनाको काम गत फागुनमा शुरु हुनुपर्ने भए पनि कोरोनाका कारण एक वर्ष लम्बिने भएको छ । प्रति मेगावाट रु. १५ करोड लागत अनुमान गरिएको सो आयोजना सन् २०२३ को अगष्ट ३० मा सक्ने गरी सम्झौता गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडलगायत बैंकको ऋण सहायता रहने बताइएको छ ।

नुम्बुर हिमालको काखबाट बग्ने सोलुखोलामा अहिले १९.२ मेगावाटको बेनी हाइड्रो पावर, ८२ मेगावाटको तल्लो सोलुखोला, २३.५ मेगावाटको माथिल्लो सोलु खोला र ८६ मेगावाटको सोलु दूधकोशी आयोजना निर्माण भइरहेको छ । उक्त आयोजनामध्ये २३.५ मेगावाटको माथिल्लो सोलु खोलाको काम सकिएको छ भने अन्य आयोजनाले ५० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेका छन् ।
­­­

प्रतिक्रिया दिनुहोस्