आज प्रिमियर लिगमा हैदराबाद र बैंगलोर भिड्दै



काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् ।

युएईमा जारी आइपिएलमा हैदराबाद र बैंग्लोर पहिलो खेल खेल्न मैदानमा उत्रन लागेका हुन् । खेल नेपाली समय अनुसार बेलुका ७ः ४५ पछि सुरु हुनेछ । हैदराबाद डेभिड वार्नरको कप्तानीमा मैदानमा उत्रने छ ।

बैंगलोर विराट कोहोलीको नेतृत्वमा खेल्नेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रने छन् । सन् २०१६ मा हैदरबादले बैंगलोरलाई हराउँदै आईपीएलको उपाधि जितेको थियो ।

त्यसअघि सन् २००९ मा पनि हैदराबादले आईपीएलको उपाधि जितेको थियो । सन् २०१६ बाहेक सन् २०११ र २००९ मा बैंगलोरले आईपीएलको फाइनल खेलेको थियो । तर, दुवै फाइनलमा बैंगलोरले पराजय भोगेको थियो । दुई टोलीबीच आइपिएलमा कुल १५ खेल भएका छन् ।

जसमा हैदराबादले ८ खेलमा जित हात पारेको छ भने बैंगलोर ६ खेलमा विजयी भएको छ । अघिल्लो संकरणमा दुई टिमबीच दुई भेट भएको थियो । जसमा दुवै टिमले १–१ जित निकालेका थिए ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्