बारा र रौतहटका स्थानीयबीच झडप



वीरगञ्ज : पुल निर्माण कार्यमा विवाद भएपछि बारा र रौतहटका स्थानियबीच झडप भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच झडप भएको हो ।

झडपमा दुबै तर्फका केही स्थानीय घाइते भएका छन् । झडपको क्रममा टाउको हात, खुट्टामा चोट लागेका घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको बताइएको छ ।

हुलाकी राजमार्ग अन्तर्गत अरुवा नदीमा पुल निर्माणाधिन अवस्थामा रहेको र विवादकै कारण पुल निर्माणले गति लिन नसकेको स्थानियको भनाइ छ ।

अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गर्दै आएको स्थानीय नुर आलमले बताए । रौतहटका बासिन्दाले भने पुल तोकिएकै स्थानमा बन्नुपर्ने अडानमा रहेका छन् ।

समस्या समाधान नै नगरी सोमबार पुल निर्माण कार्य सुरु गरिएपछि विवाद भएको थियो । विवादले उग्ररुप लिँदा दुबैतिरका स्थानीय बासिन्दा एक अर्कामाथि जाइलागेका थिए । हातमा लाठी भाटा लिएर पुल निर्माण स्थलमा पुगेका स्थानीयले पुल निर्माणका लागि सिमेन्ट घोल्ने मिक्सर जलाइ दिए । मिक्सरमा सामान्य क्षति पुगेको छ ।

झडप भएको जानकारी पाएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी टोली पुगेको थियो । अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले समस्या समाधानका लागि असोज ९ गते दुवै गाउँका बासिन्दबीच छलफल गर्ने सहमति भएको जानकारी दिएको छ ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्