पत्रकारिता क्षेत्रमा (कोभिड-१९) को प्रभाव, प्रारम्भिक नतिजा सार्वजनिक



काठमाडौंः नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा (कोभिड-१९) को प्रभाव सर्वेक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ

सेयरकाष्ट इनिसिएटिभक नेपालको सहकार्यमा महासंघले गरेको सर्वेक्षणको नतिजा भर्चुअल माध्यमबाट कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले (कोभिड–१९) महामारीको समयमा पत्रकारको पेशागत समस्या तथा सञ्चारमाध्यमले भोग्नुपरेको अवस्थाको यथार्थ थाहा पाउन सर्वेक्षण गरिएको बताए ।

महासंघका पूर्व सभापति डा.सुरेश आचार्यले संचारगृहले कोरोनाको बहानामा पत्रकारलाई पेशाबाट बञ्चित गर्न नमिल्ने बताए । उनले मिडिया संचालकहरुले वर्षौंदेखि कमाएको नाफालाई बिर्सिएर केही महिनाको घाटा देखाउँदै मिडिया बन्द गर्ने र पत्रकार निकाल्ने काम गर्नु गलत भएको बताए ।

यस्तै महासंघका पूर्व सभापति तारानाथ दाहालले सर्वेक्षणमा सहभागी पत्रकारहरुले पेशाप्रति देखाएको आशाले उत्साहित बनाएको बताए । उनले यो सर्वेक्षणको नतिजाले नेपाली पत्रकारिता क्षेत्रमा (कोभिड-१९) का कारण सिर्जना भएको अवस्थालाई स्पष्ट पारेको बताएका छन् ।

महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले सर्वेक्षणले (कोभिड-१९) महामारीले पत्रकारको पेशागत सुरक्षामा ठूलो असर पारेकाले पेशागत संकटमा परेका पत्रकारकोबारेमा महासंघले पहल कदम लिनुपर्ने धारणा राखे । शेयर कास्टका अनुसन्धानकर्ता मधु आचार्य र भूमी चापागाईँले सर्वेक्षणमा अपनाइएको विधि र नमुना छनौटकाबारेमा प्रकाश पारे ।

त्यसै गरी कार्यक्रमका सहजकर्ता एवं महासंघका सचिव प्रकाश थापाले सर्वेक्षणको नतिजाले अहिलेको विषम परिस्थितिबाट सिंगो पत्रकारिता क्षेत्रमाथि निस्कनु कोसेढुंगा सावित हुने बताए । कार्यक्रममा महासंघ केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, प्रदेश, जिल्ला, प्रतिष्ठान र एसोसियटका अध्यक्षहरु लगायत सञ्चारविज्ञहरुको सहभागिता रहेको थियो ।

प्रकाशितः ५ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्