एट्लेटिकाे म्याड्रिडकाे लज्जास्पद हार



एजेन्सी : यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा एटलेटिको म्याड्रिडलाई ४-० ले पराजित गरेको छ । घरेलु मैदानमा डर्टमुन्डले पहिलो हाफमा नै अग्रता लिएको थियो । 

 

एक्सल विटसलले पहिलो हाफको ३८ औं मिनेटमा गरेको प्रहार डीफ्लेक्ट हुँदै गोलमा परिणत हुँदा घरेलु टोली अगाडि बढेको थियो । राफेल गुरेरोले ७३ औं मिनेटमा उत्कृष्ट टिम पासलाई गोलमा परिणत गर्दै २-० को अग्रता दिलाए । इंग्ल्यान्डका युवा विंगर जेडन सान्चोले तेस्रो गोल गर्दा गुरेरोले व्यक्तिगत दोस्रो गोल गर्दै डर्टमुन्डलाई ४-० को सहज जित दिलाए ।

 

यो एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओनीको हालसम्मकै फराकिलो हार हो । एटलेटिकोको हारमा गोलरक्षक यान ओब्लाकले निकै औसत प्रदर्शन गरे । उनको गल्तीमा दुई गोल पनि सम्भव भएको थियो ।

 

एटलेटिकोले पनि खेलमा दुई पटक पोस्टमा प्रहार गरेको थियो । साउल निगुएजले पहिलो हाफ र एन्जल कोरियाले दोस्रो हाफमा गरेको प्रहारमा पोस्ट बाधक बनेको थियो ।

 

यस नतिजासँगै बोरुसिया लगातार तीन जितका साथ ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । एट्लेटिको ६ अंकसहित समूहको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्