बाबुरामको प्रश्न : सरकार किन कानमा तेल हालेर बसेको हो ?



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट आयात गर्न लागिएका सामान लामो समयदेखि सीमामै रोकिँदा सरकार कानमा तेल हालेर बसको आरोप लगाएका छन् ।

चीनबाट आयात गरिएका २० अर्ब बढी मूल्यका सामान ६ महिनादेखि सीमामा अलपत्र परेको भन्दै लामो समयदेखि सीमामै रोकिँदा सामान बिग्रिने र नेपाली व्यवसायीहरुले नोक्सानी व्यहोर्नुपर्ने बताए । तर पनि सरकार कानमा तेल हालेर बसेको उनको भनाइ छ ।

उनले मंगबार विहान ट्वीटरमा लेखेका छन्, ‘छिमेकी चीनबाट आयात हुन लागेका बीस अर्ब बढी मूल्यका सामान सहितका कन्टेनर ६ महिना बढी समयदेखि सीमानामा अलपत्र भएर बसेकाले नेपाली व्यवसायीहरूलाई आसन्न चाडबाडको मुखमा ठूलो असुविधा र नोक्सान भैरहेको छ । व्यवसायीहरू हारगुहार गर्दै यत्रतत्र कुदिरहेछन् । सरकार किन कानमा तेल हालेर बसेको हो ?’

चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी र रसुवागढी हाल बन्द छन् । रसुवागढी भन्सारका एक नेपाली मजदुरलाई कोरोना संक्रमण देखिएपछि चीनले नाका बन्द गरेको छ ।

यस्तै तातोपानी नाकाभन्दा करिब ३५ किलोमिटर माथि चीनतर्फ पर्ने एक ताल बिष्फोटको जोखिम रहेको भन्दै चिनियाँ पक्षले सो नाका पनि बन्द गरेको छ । नाका बन्द हुँदा चीनबाट आयात गरिएका सामान लोड गरिएका कन्टेनरहरु नेपाल प्रवेश गर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्