जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक



चितवन : जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं. १०, ११, १२, ७ लगायतका मुख्य शहरी क्षेत्रमा पानी जमेको छ । घरहरुका बीचबीचमा जमेको पानी तलाउ जस्तै देखिन्छन् ।

वरिष्ठ फिजिसियन डा विजय पौडेल अप्राकृतिकरूपमा जमेको पानीले महामारीसमेत ल्याउनसक्ने बताउँछन् । जमेको पानीमा शौचालय, स्नानगृहलगायतका पानी समेत मिसिन सक्ने भन्दै उनले भने, “यसले झाडापखाला लगायतका महामारी रोग निम्त्याउन सक्छ ।” उनका अनुसार डेङ्गु, टाइफाइड, भाइरल र ब्याक्टेरियल रोगहरु जमेको पानीबाट फैलिन सक्दछन् । जमेको प्रदूषित पानीले वातावरणसमेत असन्तुलित हुने उनको भनाइ छ । मौसम परिवर्तनको यो समयमा मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भन्दै उनले यस्तो बेला रोग फैलिन सम्भावना बढी रहनेतर्फ सचेत गराए ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी पानी जम्ने समस्याले लाखुट्टेको सङ्ख्या बढ्ने बताउँछन् । लामखुट्टेको टोकाइबाट हुने रोगको प्रकोप हुन सक्ने भन्दै उनले भने, “डेङ्गु, कालाजार, मलेरिया, आउँ, झाडापखाला, हैजा जस्ता रोगहरु फैलिन सक्छन् ।” पानीले भरिएपछि जमिनमुनि रहेका मुसा, घरमा गएर टाइफस फिबर सार्न सक्ने खतरा रहेको उनले बताए ।

तिवारीले अहिले जमेको पानी अस्पतालजन्य र अन्य फोहोरसमेत मिसिएकाले यो पानी रसाएका र फुटेका खानेपानीको पाइपहरुबाट मिसिएर घरघरमा पुगेमा थप जोखिम हुन सक्ने जानकारी दिए । यसअघि पनि चितवनमा टाइफाइडको प्रकोप देखिएको भन्दै जोखिम रहेको उनले बताए । भाँडाकुँडा, टायरहरुमा जमेका पानीबाट डेङ्गु फैलिन सक्ने खतरा तिवारीले औँल्याए । हालसम्म समस्या नदेखिएको भए पनि सम्भावना नटरेको तिवारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्