निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचन स्थगित



काठमाडौँ : निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

आधिकारिक ट्रेड युनियनको निर्वाचन यही आउँदो असोज २४ गतेका लागि तोकिएको थियो । तर कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर तत्काल निर्वाचनको कार्यक्रम स्थगित गरिएको एक मन्त्रीले बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले स्थगितको निर्णय गरेको हो ।

सरकारले साउन ५ गते कानुनका सहसचिव कलानिधि पौडेललाई प्रमुख निर्वाचन अधिकृत तोक्दै असोज २४ गतेका लागि देशभरि निर्वाचन गर्ने जिम्मेवारी दिएको थियो । सरकारको निर्देशनबमोजिम निर्वाचनको तयारी समेत भइसकेको थियो । तर त्यसप्रति नेपाल मधेशी निजामती कर्मचारी मञ्चले विरोध जनाउँदै आएको थियो ।

केन्द्रमा सहभागिताका लागि कम्तीमा १० प्रतिशत मत ल्याउनुपर्ने गरी थ्रेसहोल्ड राखिएपछि त्यसको मञ्चले विरोध गर्दैआएको थियो । मञ्चले मधेशी कर्मचारीहरुलाई राज्यले नै आरक्षित कोटामा राखेको र अहिले आएर १० प्रतिशतको थ्रेसहोल्ड राखेर प्रतिनिधित्वविहीन बनाउन खोजेको भन्दै त्यसप्रति विमति जनाउँदै आएको थियो । मञ्चले त्यसविरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदनसमेत दायर गरेको थियो । त्यसको प्रारम्भिक सुनुवाइ बुधबारका लागि पेशी तोकिएको छ ।

यसैबीच प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई पत्राचार गरी निर्वाचन स्थगित गर्न आग्रह गरेका थिए । कोरोना महामारी रहेको अवस्थामा निर्वाचन गर्न असहज भएको तथा निर्वाचनविरुद्ध परेको रिट सर्वाेच्च अदालतमा विचाराधीन रहेकाले तत्काल स्थगित गर्न राउतले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्