चितुवा मृत फेला



बैतडी : बैतडीको पाटन नगरपालिका-८ स्थित ज्याफु जंगलमा एउटा चितुवा मृत फेला परेको छ ।

करिब ७ वर्षको चितुवा मरेको अवस्थामा फेला परेको छ । डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीका अनुसार चितुवा एक साताअघि मरेको हो ।

उनले भने, ‘एक साताअघि नै पासोमा परेर घाइते भएको चितुवा मरेको हुनसक्छ ।’ मृत बाघलाई वन कार्यालयमा ल्याएर मुचुल्का गरी गाड्ने पराजुलीले बताए ।

यस्तै, सिगास गाउँपालिका–२ गाँजरीमा एक चितुवालाई स्थानीयले घेरेर राखेका छन् । स्थानीयले चितुवालाई घेरेको खबर पाएपछि प्रहरी र वन कार्यालयको टोली गएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले बताए ।

चितुवालाई नियन्त्रणमा लिन सम्भव नभएकोले जंगलतर्फ नै धपाइने डिभिजनल वन अधिकृत पराजुलीले जानकारी दिए । ‘नियन्त्रणमा लिन वन कार्यालयसँग दक्ष जनशक्ति र उपकरण नभएकाले जंगलतर्फ धपाउँछौं ।’ उनले भने, ‘निकुञ्जको तालिम प्राप्त टोलीले मात्रै जिउँदो चितुवा लिन सक्ने भएकाले त्यहाँबाट आउँदासम्म चितुवा भागिसक्छ ।’

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्