राष्ट्रिय सम्मानका साथ आङरिता शेर्पाको अन्त्येष्टि, ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय



काठमाडौंः बिना अक्सिजन १० पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र त्यसक्रममा भएको खर्च सरकारले व्यहोर्ने निर्णय भएको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । ‘हिम चितुवा’ उपनामले विश्व परिचित शेर्पाको सोमबार बिहान ७२ वर्षको उमेरमा निधन भएको थियो ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव रोक्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले बताएकी छिन् ।

सो युनियनले असोज २४ गते चुनाव गर्नुपर्ने प्रावधान रहेकोमा सरकारले हाललाई युनियनको निर्वाचनका सबै प्रक्रिया स्थगित गर्दै बैसाखसम्मका लागि कार्यकाल थप गरेको छ । यस्तै सरकारले इजरायलसँग केयर गिभरको रुपमा त्यहाँ काम गर्न जाने कामदार सम्बन्धी सम्झौता गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्