अर्जेन्टिनी स्टार डी मारियाकाे गालेले हारबाट जाेगियाे पीएसजी



एजेन्सी : अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियाले खेलको इन्ज्युरी समयमा गोल गरेपछि च्याम्पियन्स लिग अन्तर्गत बुधबार नेपोलीविरुद्ध पीएसजीले हार टारेको छ । डी मारियाको गोलसँगै पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा खेल २-२ को बराबरीमा टुंगियो ।

 

खेलको पहिलो हाफमा लोरेन्जो इन्सिगनेले पाहुना टोली नेपोलीलाई १-० को अग्रता दिलाएका थिए । उनले जोसे क्यालेहनको बललाई २९ औं मिनेटमा गोलमा परिणत गरेका थिए ।

 

दोस्रो हाफमा केहि सुधारिएको प्रदर्शन गरेको पीएसजीले खेल बराबरी गर्न आत्मघाती गोलको साहारा लिनुपर्यो । डिफेन्डर थोमा मेउनिएरको क्रस नेपोलीका मार्को रुईलाई लाग्दै गोलमा परिणत भएको थियो ।

 

दोस्रो हाफमा गोलकर्ता इन्सिगनेले चोटका कारण मैदान छाडेपनि नेपोलीले पुन: अग्रता बनाउन सफल रहयो । खेलको १३ मिनेट समय बाँकी रहँदा ड्रिज मर्टेन्सले गोल गरे ।

 

तर इन्ज्युरी समयमा डी मारियाले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याए । म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडका पूर्वखेलाडी डी मारियाले पेनाल्टी क्षेत्रबाहिरबाट दर्शनीय गोल गर्दै अंक बराबरी गरे ।

 

बराबरीसँगै पीएसजी तेस्रो स्थानमा कायम छ । शीर्ष स्थानमा २ जित दर्ता गरेको लिभरपुल तथा दोस्रोमा ५ अंक बोकेको नेपोली छ । लिभरपुलले रेड स्टार बेलग्रेडलाई ४-० ले पराजित गरेपछि शीर्ष स्थानमा चढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्