एयरलाइन्सबीच भ्रमण प्याकेजको प्रतिस्पर्धा



काठमाडौं : मुलुकको आन्तरिक उडान सञ्चालन भएसँगै वायुसेवा प्रदायक कम्पनीबीच सस्तो भ्रमण प्याकेज घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ । बन्दाबन्दीको छ महिनापछि यही असोज ५ गतेदेखि शुरु भएको आन्तरिक उडानमा यात्रुलाई आकर्षण गर्न वायुसेवा कम्पनीले विभिन्न प्याकेज तथा आकर्षक अफर सार्वजनिक गरिरहेका छन् ।

खासगरी ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सबीच पर्यटकीय गन्तव्यमा भ्रमणका लागि सस्तो प्याकेज बनाउने होडबाजी नै चलेको छ । यसले गन्तव्य भ्रमणमा निस्कने पारखीलाई त राहत मिलेको छ नै सिङ्गो पर्यटन क्षेत्रलाई पनि गतिशील तुल्याउन मद्दत पुग्ने व्यवसायीको अपेक्षा छ ।

हुन त, वायुसेवा कम्पनीको पनि कोभिड–१९ का कारण लामो समय प्रभावित बनेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन अनेकन चुनौती छन् । आर्थिक नोक्सानी बेहोरेका एयरलाइन्सले जोखिम मोलेर भए पनि यात्रुलाई तान्न सस्ता प्याकेज बनाएर बेच्न थालेका छन् । होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय संस्था सँगको साझेदारितामा एयरलाइन्सले विभिन्न पर्यटकीय गन्तव्यको भ्रमणका लागि सस्तो प्याकेज धमाधम सार्वजनिक गरेका हुन् ।

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले एक महिनाअघि नै आकर्षक पर्यटकीय प्याकेज सार्वजनिक गरेर बजारीकरण गरेको थियो । अर्को ठूलो एयरलाइन्स यतीले पनि आफ्नो २२औँ वार्षिकोत्सवको अवसर पारेर आन्तरिक उडान शुरु भएकै दिन सोमबार पत्रकार सम्मेलन गरी सस्तो भ्रमण प्याकेज घोषणा गरेको हो ।

कोभिड महामारी नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाका कारण ६ महिना शून्य स्थिति जस्तै भएको मुलुकको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्कने आशाका पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा एयरलाइन्सले पनि छुट र अफरका प्याकेज ल्याएका हुन् । भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान र असोज ५ देखि सञ्चालनमा आएको आन्तरिक उडानले पर्यटन क्षेत्रलाई चलायमान बनाएको छ । अहिले हवाई उडानसँगै होटल, ट्राभल, ट्रेकिङलगायत पर्यटकीय क्षेत्र खुलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्