प्रेस कार्ड नविकरणको काम हुलाक कार्यालय जनकपुरबाट शुरु



जनकपुरधामः सुचना बिभागबाट प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरणको काम अब जिल्ला हुलाक कार्यालय जनकपुरबाट शुरु भएको छ ।

जिल्ला हुलाक कार्यालयलाई नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रिन्टर हस्तान्तरण गर्दै प्रेस प्रतिनिधि कार्ड नविकरण सुरु गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरणको अधिकार हुलाक कार्यालयलाई दिएपछि जनकपुरधामस्थित हुलाक कार्यालयबाट नविकरण सुरु भएको हो ।

पहिलो प्रेस प्रतिनिधि प्रमाणपत्र जानकी साप्ताहिकका सम्पादक एवं वरिष्ठ पत्रकार मदनलाल श्रेष्ठलाई प्रदान गर्दै वितरण कार्यको उद्घाटन गरिएको हो । वरिष्ठ पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मिश्रको उपस्थितिमा हुलाक कार्यालय जनकपुरधामका प्रमुख रामउदगार अधिकारीले प्रदान गरेका हुन ।

यसअघि पत्रकारलाई नवीकरणका लागि काठमाडौ जानु पर्दथ्यो । सो अधिकार हुलाक कार्यालयले पाएपछि अब काठमाडौ धाउनुपर्ने समस्याको अन्त्य भएको छ । तर नयाँ प्रमाणपत्र बनाउनका लागि भने काठमाडौ नै जानुपर्नेे हुन्छ ।

प्रेस प्रतिनिधि प्रमाणपत्र छपाईका लागि नेपाल पत्रकार महासंघ धनुषाले हुलाक कार्यालयलाई एकथान प्रिन्टर उपलब्ध गराएको छ । महासंघ धनुषाका अध्यक्ष मिश्रले हुलाक कार्यालयका प्रमुख अधिकारीलाई सो प्रिन्टर प्रदान गरेका हुन । विभागले प्रमाण पत्र वितरण गर्ने अधिकार दिइएपनि प्रिन्टरको आभावमा महिनौंदेखि रोकिएको थियो ।

सो प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण नविकरण तथा प्रिन्टर हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत सहित जनकपुरधामस्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्