केन्द्रीय कारागारमा कैदीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी



काठमाडौंः केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ ।

शनिबार (३ असोज) मा उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वर्षीय जैसवालको हत्या भएको परिवारले दावी गरेको छ । तर, जेल प्रशासनले उपचारको क्रममा स्वाभाविक मृत्यु भएको बताएको छ ।

केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले भने,’दीर्घरोगी हुनुहुन्थ्यो, स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेका थियौं, भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु भयो ।’ रुपन्देहीको सिद्धार्थ नगरपालिका-५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएको छ ।

कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन । तर, परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् । ‘वुवाको हत्या भएको हो, छानविन हुनुपर्छ’ मृतककी छोरी रश्मिले भनिन्,–‘घाँटी र टाउकोमा चोट लागेको छ, स्वभाविक मृत्यु होइन ।’

पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्दामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए । कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि मंगलबार छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुगिन् । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उनले भिडियो खिचेकी थिईन् ।

कारागार प्रशासनले परिवारलाई ‘तपाईँको मान्छेको कारोनाको कारण ज्यान गएको’ भन्दै खबर गरेपछि परिवारका सदस्य काठमाडौं आएका थिए । शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई पिटेको छ । प्रहरीको लाठीबाट उनको हात भाँचिएको छ । अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको छ ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्