भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने



नयाँ दिल्ली : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुनेभएको छ । उनीबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन ।

गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए । त्यतिबेला राजापाक्षले दुई छिमेकी मुलुकका बीचमा अझ बलियो सम्बन्ध र सहकार्य गर्नका लागि जोड र्दिएका थिए ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ, “श्रीलङ्काका राष्ट्रपति गोटावाया राजापाक्ष र प्रधानमन्त्री महिन्दा राजापक्षले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उहाँको जन्मदिनका अवसरमा फोन गर्नुभएको थियो । टेलिफोन कुराकानीका क्रममा उहाँहरुका बीचमा दुई देशको सम्वन्ध र सहकार्यलाई थप बलियो बनाउने कुरामा जोड दिइएको थियो ।”

सो अवसरमा प्रधानमन्त्री मोदीले शुभकामनाका लागि श्रीलङ्काका दुवै नेताहरुलाई धन्यवाद दिएका थिए भने सम्बन्ध र सहकायलाई थप बलियो बनाउनका लागि आफ्नो तर्फबाट आवश्यक कदम चाल्ने र चासो राख्ने आश्वासन दिएका थिए । त्यही बेलाको कुराकानीका आधारमा अहिले भिडियो कुराकानी हुने तय भएको समाचार श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्