प्रदेश लोकसेवाले बुझायो वार्षिक प्रतिवेदन



जनकपुरधाम: प्रदेश २ लोकसेवा आयोगको एक वर्ष कुनै काम नै नगरि सम्पन्न भएपनि आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले आज ९मंगलबार० प्रदेश प्रमुख तिलक परियार समक्ष आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश लोकसेवा ऐन २०७६ को परिच्छेद १२ दफा ६६ को व्यवस्था बमोजिम वर्ष भरिका काम कारवाही सहितको प्रदेश लोकसेवा आयोगका अध्यक्ष यादवले प्रदेश प्रमुख परियारलाई वार्षिक प्रतिवेदन बुझाएका छन् ।

सो प्रतिवेदनमा आयोगको गठन र कार्यक्षेत्र, कार्य सम्पादनका आधारहरु, प्रशासनिक तथा वित्तिय स्थिति, परिक्षण प्रविधि, शैक्षिक योग्यता र पाठ्यक्रम, विज्ञापन र दरखास्त, परीक्षा र परिक्षण, अन्तरवार्ता र सिफारिस, सुरक्षा निकाय र संगठित संस्थाको पदपूर्ति, परामर्श र उजुरी, ध्यानाकर्षण र सुझाव शिर्षक १० परिच्छेदहरुमा प्रस्तुति समेटिएको छ ।

गत आर्थिक वर्षमा आयोगले २८ पटक बैठक, २३ वटा पाठ्यक्रमको मस्यौदा निर्माण, आयोगका पदाधिकारी, कर्मचारी एवं दक्ष र विज्ञले पालना गर्नुपर्ने आचार संहिता निर्माण, आयोगको नियमावली राजपत्रमा प्रकाशन र सूचना प्रवाहका लागि आयोगको अधिकारिक वेभसाइट निर्माण लगायतका कार्य सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

त्यसैगरी आयोग बारे जानकारी एवं जागरुकता अभिवृद्धि गर्न आयोगको परिचय सहितको ब्रोसर प्रकाशन, दक्ष र विज्ञ र विज्ञको सूचीमा नाम समावेश गर्ने सूचना प्रकाशन एवं सो सम्बन्धी निवेदन कम्प्यूटर प्रविष्टि, सांगठनिक संरचना स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध समेत गरिएको छ ।

प्रतिवेदनमा प्रदेश प्रमुख परियारसँग आयोगले सुझाव पनि मागेको छ । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख परियारले लोकसेवा आयोगलाई काम गर्न सहज नरहेकोले आयोगलाई विज्ञापन प्रक्रिया छिट्टो अगाडी बढाउन सुझाव दिएका छन् ।

आयोगले प्रदेश सरकारबाट कुनैपनि दरबन्दी संरचना स्वीकृत नभएको अवस्थामा काजका ५ र करारका ६ जना कर्मचारीबाट कार्यालयको कार्य सम्पादन गर्दै आइरहेको छ ।

प्रकाशितः ६ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्