मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना



रुकुम : रुकुम–पूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रदेश ५ सरकारले आर्थिक तथा सामाजिक सूचकाङ्कका आधारमा कमजोर गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिएको हो ।

सूचकाङ्कमा कमजोर समुदाय, घरपरिवार वा व्यक्तिहरूको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, आयआर्जनका अवसरहरू तथा सामाजिक संरक्षणका कार्यक्रममार्फत जीवनस्तर सुधार गरी गरिबी निवारण गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमको लागि अहिले जिल्लाबाट ३२ वटा योजना छनोट भएका छन् । जसमा चालुतर्फका २२ वटा र पुँजिगत तर्फका १० योजना छन् ।

यस वर्ष सिस्ने गाउँपालिकामा १२ कार्यक्रम सञ्चालन हुने छन् भने भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा दशरदश वटा कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका जिल्ला संयोजक लिलामणि गौतमले बताए । कार्यक्रम सञ्चालनको लागि तीन गाउँपालिकामा रु ६० लाखका दरले रु एक करोड ८० लाख बजेट आएको छ । जिल्ला समन्वय समितिले स्वीकृत गरेसँगै कार्यक्रम कार्यान्वयनको चरणमा गइसकेको संयोजक गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्