२५ हजार बढी संक्रिय संक्रमित भए पुनः लकडाउन हुने



काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड-१९) काे संक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन हुने भएको छ ।

यसलाई मध्यनजर गर्दै इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) ले २५ हजारभन्दा माथि संक्रिय संक्रमित भएमा लकडाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २५ हजारमाथि संक्रिय संक्रमित हुँदा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने भन्दै यस्तो निर्णय भएको जानकारी दिए । साथै संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्ड पालना नभएका विभिन्न क्षेत्र अझै एक महिनासम्म बन्द गर्ने निर्णय गरेको छ ।

चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन साउन १ गतेसम्म भएको थियो । त्यसपछि जोरबिजोर प्रणालीमा केही खुकुलो भएपछि संक्रमण तिब्र बढेको भन्दै एक महिनासम्म निषेधाज्ञा गरिएको थियो । निषेधाज्ञाप्रति आक्रोश बढ्दै गएपछि सरकारले जनजीवनलाई सहज बनाउने भन्दै अहिले अधिकांश क्षेत्र खुला गरेको छ ।

निषेधाज्ञाको अन्त्य भएसँगै संक्रमण दर बढेको छ । संक्रमण बढ्दै गएपछि मन्त्रालयले २५ हजार बढी सक्रिय संक्रमित भएमा लकडाउनको लागि सिफारिस गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार योसँगै कोरोना संक्रमितको संख्या ६७ हजार ८०७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा १८ सय ९३ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ४९ हजार ९५४४ पुगेको छ । मन्त्रालयका अनुसार यो डिस्चार्ज हुनेको ७३.७ प्रतिशत हो । आज ७ जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४९७ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा पीसीआर परीक्षणको संख्या ९ लाख ४४ हजार ४४७ पुगेको छ । अहिले देशभर १७ हजार ४१४ जना संक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा हुनेको संख्या ८ हजार २२८ छ । अहिले क्वारेन्टाइनमा ७ हजार १०४ जना छन् ।

मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सय बढी संक्रमित रहेका छन् भने सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला जिल्ला शून्य रहेको छ ।

प्रकाशितः ७ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्