कोरोना संक्रमणबाट भारतीय रेल राज्यमन्त्री अंगडीको निधन



नयाँदिल्ली : कोरोना संक्रमणबाट भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश चनाबसप्पा अंगडीको मृत्यु भएको छ ।

भारतको राजधानी नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ साइन्स् (एम्स) अस्पतालमा उपचारका क्रममा ६५ वर्षीय अंगडीको बुधबार राति मृत्यु भएको हो ।

सेप्टेम्बर ११ मा मन्त्री अंगडीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने अंगडी पहिलो केन्द्रीय मन्त्री हुन् ।

अंगडी भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट कर्नाटकको बेलागावी निर्वाचन क्षेत्रबाट सन् २००४ देखि लगातार चार पटक निर्वाचित हुँदै आएका थिए । पछिल्लो पटक सन् २०१९ को लोकसभा चुनाव जितेपछि उनलाई नरेन्द्र मोदी सरकारमा रेल राज्यमन्त्री बनाइएको थियो ।

यसअघि कर्नाटककै अर्का सांसद अशोक गस्तीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । गस्ती पनि भाजपाबाटै राज्यसभामा चुनिएका थिए । नेपाल र भारतबीच विभिन्न रेल परियोजनाहरुको निर्माणमा समझदारी बन्दै गएकाले मन्त्री अंगडीले दुई देशबीचको सम्बन्धमा पनि विशेष चासो राख्ने गरेका थिए । प्रस्तावित रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गमा त अंगडी प्रत्यक्ष रुपमा संलग्न नै थिए ।

भारतको संसदमा उक्त रेलमार्गसम्बन्धी भएका छलफल प्रायः जसो अंगडीले नै जवाफ दिने गरेका थिए । भारतले करिब २०० किमि लामो उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन (प्रि इन्जिनियरिङं एन्ड ट्राफिक सर्भे) टुंगो लगाएर नेपाल सरकारलाई बुझाइसकेको छ । यही अध्ययनका आधारमा विस्तृत परियोजना अध्ययन (डीपीआर) तयार पारिने बताइएको छ । र, भारतले परियोजनाको डीपीआरका लागि बजेट समेत छुट्याइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुहरुका अनुसार हालसम्म भारतमा प्रदेशका दुई जना मन्त्री, तीन संघीय सांसद र ६ जना विधायकको कोरोनाबाट ज्यान नै गुमाइसकेका छन् ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्