व्यावसायिक रबर खेतीसम्बन्धी समझदारी



काठमाडौं : गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (युएसए)बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाको उपस्थितिमा इन्स्टिच्युटका कार्यकारी निर्देशक तिलक भण्डारी र फाउण्डेशनको विज्ञान तथा प्रविधि विभागका निर्देशक डा ताराप्रसाद बन्जाडेले आज समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै संस्थाले पाँच वर्षमा हजारौं हेक्टर जमीनमा रबर खेती गर्ने, कृषकको जीवनस्तर सुधार गर्ने, रोजगारी सिर्जना गर्ने, युवा विद्यार्थीलाई यस खेतीको अनुसन्धान गराउने र सयौं युवा उद्यमी तयार पार्ने उद्देश्यले छिट्टै काम शुरु गर्ने गरी समझदारी भएको फाउण्डेशनले जनाएको छ । वर्षमा टायर ट्यूब र रबरजन्य कच्चा पदार्थ आयातमा हुने गरेको करिब रु ११ अर्बको खर्चलाई कम गरी रबर उत्पादनमा आत्मनिर्भर हुन सकिने सम्भावना रहेको सो अवसरमा जानकारी दिइयो ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष कोइरालाले कोभिड–१९ पछि नेपाल र विश्वलाई आर्थिक, सामाजिक क्षेत्रमा ठूलो सङ्कट उत्पन्न भएको अवस्थामा स्वदेशमै हजारौं युवालाई रोजगारी सिर्जना गर्न सकिने अवसरको उपयोग गर्ने गरी अमेरिकी संस्थासँग समझदारी भएको बताए । इन्स्टिच्युटका कार्यकारी निर्देशक भण्डारीले मुलुकमा रबर खेतीको थप अनुसन्धान र व्यावसायिक रुपमा उत्पादन गरी करिब ५०० रबर उद्योगलाई स्थायी रुपमा स्वदेशमै कच्चा पद्घार्थ उपलब्ध गराउन सकिनेछ भने ।

प्रतिक्रिया दिनुहोस्