असोज १६ देखि सिद्धार्थ बैंकको ऋणपत्र खुल्ला हुने



काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले १६ असोज गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

बैंकले प्रतिकित्ता १ हजार रूपैयाँका दरले ३ अर्ब रूपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरी विक्री गर्न लागेको हो । ७ वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८४ ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउने छन् ।

निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत रुपमा र बाँकी एक अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गर्ने बैंकले जनाएको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् । धितोपत्र बोर्डको व्यवस्था अनुसार कूल निष्काशनको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा जारी गर्नुपर्छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

सो ऋणपत्रमा छिटोमा असोज २० गते र ढीलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिने छ । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्ने छन् । अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने छ ।

बैंकको ऋणपत्रलाई इक्रा नेपालले इ-क्राएनपी आईआर ए-माइनस एटदरेट रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने ऋणपत्र पर्याप्त मात्रामा सुरक्षित मानिन्छ र यस्ता संस्थाहरुको न्यून कर्जा जोखिम रहेको हुन्छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्