रुपन्देहीको तिनाउ नदीको कटान शुरु, साँझसम्म पानी नरोकिए बस्ती खाली गर्नुपर्ने



बुटवल : रुपन्देहीको तिनाउ नदीले कटान शुरु गरेको छ । नदीमा पानीको बहाव बढेपछि बुटवल–११ बुद्धनगर, माझगाउँ, मझुवा एवं वडा नम्बर १७ का केही भागमा कटान शुरु गरेको हो ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीसहितको टोलीले क्षतिको पूर्व आकलन गर्न तिनाउ किनारको स्थलगत अनुगमन गरेको छ ।

अहिलेसम्म बुद्धनगर, मझुवा र मैनाबगर जोड्ने सडकको केही भाग र नदी कटान रोक्न मझुवामा बनाइएको तारजाली र ड्याम बगाएको स्थलगत अनुगमनमा गएका बुटवल–११ का वडाध्यक्ष रामचन्द्र खनालले बताए ।

यता कटान शुरु भएसँगै नदी आसपालका बस्तीमा जोखिम बढेको छ भने पानी पर्न नरोकिए साँझसम्म आसपपासका बस्ती खाली गराउनुपर्ने उनले बताए ।

नदीले बिहान ५ बजेदेखि सतर्कताको तह पार गरेको छ । ५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा बिहानदेखि ५.७१ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सतर्कताको तह नाघेर खतराको तहमा पुगेपछि पाल्पाको तिनाउ गाउँपालिका दोभानमा रहेको बाढी पूर्व सूचना प्रणालीले निरन्तर साइरन बजाएको छ । साइरन बजेलगत्तै बुटवल उपमहानगरले नदी छेउका बासिन्दालाई सुरक्षित हुन सूचना प्रवाह गरेको छ ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्