दक्षिण कोरियाली कर्मचारीलाई उत्तर कोरियामा मृत्युदण्ड



सोल : दक्षिण कोरियाले आफ्ना एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको छ। उक्त घटनालाई क्रूर कार्यको सङ्ज्ञा दिँदै सोलले त्यसको निन्दा गरेको छ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार ती कर्मचारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने एउटा डुङ्गाबाट बेपत्ता भएका थिए। उनको जलेको शव पछि उत्तर कोरियाको पानीमा भेटियो।विभिन्न सुराकको विश्लेषणपछि उत्तरका सैनिकले उनलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको निष्कर्षमा सोल पुगेको छ। यो आरोपबारे प्योङ्याङले कुनै प्रतिक्रिया दिएको छैन।

उत्तर कोरियाले आफ्नो सीमामा कडाइ गरेको छ। देशमा कोरोना भाइरस प्रवेश गर्न नदिने उद्देश्यले गोली हानेर मार्ने नीति लागू गरेको अनुमान गरिएको छ।

भेटेपछि मृत्युदण्ड
दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए। यन्प्युङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुङ्गामा गस्ती गरिरहेको बेला सोमबार उनी हराएका थिए।

जुत्ता छोडेर लाईफ ज्याकेट लगाएर उनले डुङ्गा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन्। उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको छ। उत्तर कोरियाको गस्ती टोलीले उनलाई आफ्नो जलसीमाभित्र थकित अवस्थामा फेला पारेको सोलको भनाइ छ। उत्तरमा वरिष्ठ अधिकारीले उनलाई मृत्युदण्डको आदेश सुनाउनुअघि उनीसँग सोधपुछ गरिएको थियो।

सैनिकहरूले ग्यास मास्क लगाएर उनको शव जलाइदिएको दक्षिणका अधिकारीहरूले बताएका छन्। कोरोना भाइरसविरुद्ध चालिएको उपायअन्तर्गत त्यसो गरिएको हुनसक्ने उनीहरूको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्