भारतीय सरकारद्वारा एक अर्ब ५४ करोड सहयोग



काठमाडौं : नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले एक अर्ब ५४ करोड रुपैया सहयोग उपलब्ध गराएको छ । नेपालमा भूकम्प पछिको पुनर्निर्माणका लागि नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई सो रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यस चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यस मध्ये भारत सरकारले विद्यालय पुनर्निर्माण तर्फको ४।२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको छ ।

भूकम्प पछिको पुनर्निर्माण तर्फको प्रयासमा नेपाल सरकार तथा नेपाली जनतालाई निरन्तर सहयोग गर्न भारत सरकार प्रतिबद्ध रहेको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्