धितोपत्र किन्न ४८ संस्थागत लगानीकर्ताको बोर्डमा आवेदन



काठमाडौं : धितोपत्र खरिद गर्न ४८ वटा योग्य संस्थागत लगानीकर्ताले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

धितोपत्र बोर्डले गत भदौ ३ गते बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संस्थागत लगानीकर्तालाई आवेदन दिन आह्वान गरेको थियो ।

सोहीअनुरुप बोर्डसमक्ष मर्चेन्ट बैंकर, सूचीकृत कम्पनी, म्युचुअल फन्डलगायत ४८ वटा कम्पनीले आवेदन पेस गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए । उनले भने,‘अब बोर्डले आवश्यक कागजात प्रक्रिया पूरा गरेका योग्य संस्थालाई बुक बिल्डिङ विधिमार्फत निष्कासित धितोपत्र खरिद गर्न योग्य संस्थाको अनुमति दिनेछ ।’ बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम बुक बिल्डिङको प्लेटफर्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडले नै गर्नुपर्ने तर सिस्टम विकास नभएसम्मका लागि भने बोलकबोलबाट बुक बिल्डिङ विधिमार्फत धितोपत्र खरिद गर्न सक्ने केसीले बताए ।

आजका मितिसम्म धितोपत्र बोर्डमा बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासन गर्न भने कुनै पनि कम्पनीले आवेदन नदिएको उनको भनाइ छ । संगठित संस्थाले आईपीओ निष्कासन गर्दा धितोपत्रको निष्कासन मूल्य बजारले नै निर्धारण गर्न तथा मूल्य निर्धारण प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धा बनाउन धितोपत्र बोर्डले बुक बिल्डिङ निर्देशिका, २०७७ गत साउन २८ गतेदेखि लागू गरेको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्