आजको शेयरबजार २ अर्ब २३ करोड बढीको कारोबार



काठमाडौंः बुधवारदेखि उकालो लागेको शेयरबजार आज (बिहीवार) ५.७४ अंकले बढेर बन्द भएको छ ।

आज बजारमा १ हजार ५६१.२७ विन्दुमा अडिएको छ । बुधबार ९.३७ अंक बढेर १ हजार ५ सय ५५.५२ विन्दुमा बन्द भएको बजार आज १ हजार ५६५.३१ विन्दुदेखि खुलेको थियो ।

साताको अन्तिम दिनको कारोबार २ अर्ब २३ करोड ३४ लाख ८९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबार रकम बुधवारको तुलनामा वृद्धि भएको हो । बुधवार १ अर्ब ७२ करोड ७८ लाख २१ हजार बराबरको ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर कारोबार भएको थियो भने १९३ ओटा कम्पनीको २ अर्ब २३ करोड ३४ लाख ८९ हजार बराबरको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबार रकममा सर्वाधिक हिस्सा यो दिन जलविद्युत् कम्पनीले ओगटेको छ । बिहीवार अरुण काबेली पावर लिमिटेडले सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको रुपमा पहिलो स्थान ओगटेको हो । उक्त कम्पनीको यस दिन १४ करोड ७८ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो कम्पनी पनि जलविद्युत् कम्पनी नै रहेको छ । सर्वाधिक रकमको कारोबार गर्ने दोस्रो कम्पनीको रुपमा रहेको अपर तामाकोशीको ९ करोड ५९ लाख ३६ हजार बराबरको शेयर कारोबार भएको छ । बिहीवार सर्वाधिक रकमको कारोबारसँगै सर्वाधिक शेयरमूल्य वृद्धि पनि जलविद्युत् कम्पनीहरुकै रहेको छ । बिहीवार ९ प्रतिशतभन्दा बढी शेयरमूल्य बढ्ने १६ ओटा कम्पनीहरुमध्ये १५ ओटा जलविद्युत् कम्पनी रहेका छन् ।

१६ ओटा कम्पनीमध्ये बिहीवार सर्वाधिक शेयरमूल्य अपि पावर कम्पनीको छ । उक्त कम्पनीको शेयर मूल्य ९.७६ प्रतिशत अर्थात प्रतिकित्ता १६ ले बढेर अन्तिम मूल्य १८० कायम भएको छ । ९ प्रतिशतभन्दा बढी शेयरमूल्य बढ्ने जलविद्युत् समूहबाहेक युनाइटेड फाइनान्स लिमिटेड रहेको छ ।

उक्त कम्पनीको शेयर मूल्य ९.१७ प्रतिशतले बढेको छ । यस दिन उक्त कम्पनीको अन्तिम मूल्य २६२ कायम भएको छ । कारोबारमा आएका १२ समूहमध्ये व्यापारिक समूहको परिसूचक सर्वाधिक ६.९५ प्रतिशत बढेको छ । बैंकिंको ०.०७ प्रतिशत, होटलको १.०१ प्रतिशत, जलविद्युतको ४.४९ प्रतिशत, वित्तको १.२९ प्रतिशत र अन्यको ०.८९ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन विकास बैंकको ०.०९ प्रतिशत, निर्जीवन बीमाको ०.६८ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३ प्रतिशत, लघुवित्तको ०.२ प्रतिशत, जीवन बीमाको ०.४५ प्रतिशत र म्युचुअल फण्डको ०.०८ प्रतिशत परिसूचक घटेको छ । बिहीवार सर्वाधिक सिटिजन्स म्युचुअल फण्ड-१ को इकाई मूल्य घटेको छ । यस फण्डको इकाई मूल्य २.१२ प्रतिशत घटेको छ ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्