मन्त्रिपरिषद् पुनर्गठनबारे ओली–प्रचण्डबीच तीन घण्टा छलफल



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच ३ घण्टा छलफल भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल पुनर्गठनकमा केन्द्रित रहि पहिलो पटक यति लामो कुराकानी भएको हो ।

असोज ६ गते बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्ने गरी गृहकार्य गर्नेगरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मूलतः तीन विकल्पमा केन्द्रित रहेर छलफल भएको थियो । प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई राजीनामा गराएर आवश्यक योग्य व्यक्तिलाई पुन समेट्ने, दुई वर्ष पूरा गरेका सबै मन्त्रीहरूलाई बिदाइ गर्ने र कार्यसम्पादन मूल्यांकनका आधारमा पुनर्गठन गर्ने विकल्पमा छलफल केन्द्रित भए पनि बैठकले त्यसबारे आवश्यकताअनुसार नेताहरूसँग थप छलफल गर्ने जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो ।

प्रकाशित : असोज ८, २०७७

प्रतिक्रिया दिनुहोस्