‘२०७९को संसदीय निर्वाचनमा काँग्रेस पहिलो पार्टी हुन्छ’



अर्जुननरसिंह केसी नेपाली काँग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । पार्टीको आगामी महाधिवेशनमा सभापतिको आकांक्षी देखिनुभएका उहाँ पार्टीभित्र र बाहिर स्पष्ट वक्ताको रुपमा परिचित हुनुहुन्छ । वर्तमान सरकारको कमी कमजोरी औल्याएर गलत कामकारबाहीको कडा आलोचना गर्नुहुने उहाँसँग काँग्रेसको आसन्न महाधिवेशन, पार्टी गतिविधि र वर्तमान सरकारप्रतिको दृष्टिकोण लगायतका विषयमा द नेपालटपकी संवाददाता आशा साहले कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :-

नेपाली काँग्रेसको आसन्न महाधिवेशनका विषयमा के भइरहेको छ ?
– महाधिवेशनका विषयमा के भइरहेको भन्दा पनि यसलाई सार्ने तिर सबैको ध्यान केन्द्रित भएको छ । महाधिवेशनको निम्ति जुन खाले युद्धस्तरीय तयारी गर्नुपर्ने थियो त्यो तयारी एकातिर पन्छ्याएर संस्थापन पक्ष÷सभापतिबाट कुनै उपयुक्त नभएको, विधानले नदिएको आचारसंहिताविपरित र नेपाली काँग्रेसको परम्पराविपरीत विभागहरु गठन गर्ने काम भइरहेको छ । त्यो विभागको कुनै अर्थ नै छैन । किन भने–न यसको कुनै बैठक बस्न सकेको छ, न त कुनै खालको सिर्जनशील काम गर्ने समय छ यसको । त्यसैले यसलाई कसरी पर सार्ने भन्ने तिर अथवा तोकिएको मितिमा नगर्ने भन्ने तिर ध्यान केन्द्रित भएको छ, त्यो दुःखद स्थिति हो । हामीले के भनिरहेका छौ भने–यसको लागि समय समायोजन गरेर भए पनि तोकिएकै समयमा अधिवेशन हुनुपर्छ । हाम्रो दृष्टिकोण हो । हाम्रो प्रयास त्यतै तिर उन्मुख छ ।

त्यसो भए विभाग गठन भएकै कारण महाधिवेशन सार्नुपर्ने कुरा भएको हो ?
– जतातिर ध्यान दिनुपर्ने थियो त्यतातिर ध्यान गएन । अहिले सभापतिजीले महाधिवेशनको तयारीका लागि विभिन्न समिति गठन गर्नुपर्थ्यो । योभन्दा अगाडिको परम्परा जस्तै आर्थिक, नीतिगत, सामाजिक, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विभिन्न विषयमा विभिन्न समिति गठन गरेर त्यसलाई परिचालन गर्नुपर्थ्यो । अर्कोतिर क्रियाशील सदस्यताका निम्ति जहाँ–जहाँ समस्या आएका छन् ती समस्याहरुलाई केन्द्रित गरेर त्यसको छिनोफानो गर्नेतिर लाग्नुपर्थ्यो । यी सबै कुरालाई बेवास्ता गरेर यो प्रयोग पनि नहुने, काम पनि गर्न नभ्याउने अधिवेशनको बेला विभाग गठन गर्नुपर्ने कुनै औचित्य पनि छैन । नेपाली काँग्रेसको विधान अनुसार महाधिवेशन छ महिनाभित्र हुनुपर्ने हो । यो महाधिवेशनको जहाँसम्म कुरा छ पहिलो चोटी केन्द्रीय कार्य समितिमा फेरी पनि फागुनमै गर्ने कुरा आउँदा केही साथिहरु त्यसमध्ये पहिलो चोटी मैले आफूले नै भनेको थिए–एकातिर कोभिड महामारी छ र अर्को तिर साउन भदौको वर्षातको क्षति छ । त्यसपछि दशै, तिहार र छठ जस्ता पर्वहरु छन् । अर्का तिर मंसिर पुषमा हिमाली क्षेत्रमा हिमपात हुने स्थिति छ यो सबै स्थितिलाई हेरेर बरु दुई–तीन महिना पर सार्ने भए सारौ भनेर प्रस्ताव गर्ने मानिसहरुमध्ये मैले पनि भनेको थिए । तर, उहाँहरुले सुन्नुभएन र स्वयम् सभापतिले बीचमा हस्तक्षेप गरेर हैन तोकिएकै मितिमा गर्नुपर्छ भन्नुभयो । तर अहिले त्यतातिर काम नै भएको छैन । प्रयत्न केही भएको छैन । समायोजन आफ्नो ठाउँमा जस्ताको त्यस्तै बाँकी छ । अर्को तिर सक्रिय सदस्यता मनपरी रुपबाट वितरण भइरहेको छ । अहिले समायोजन भएर आइसकेको जिल्ला सिन्धुपाल्चोकदेखि सोलुसम्म, रसुवाको स्थिति त्यस्तै खालको देखापरिरहेको छ । डडेलधुरामा ठूलो दवावपछि सभापतिलाई दिइएको छ । तर सभापति बाहिर अन्यलाई पनि दिएर पठाइएको छ । नेपाली काँग्रेसको विधान अनुसार सभापतिमार्फत नै जानुपर्छ र त्यो क्षेत्रीय सभापति हुँदै गाउँस्तरमा गएर वितरण गर्ने प्रक्रिया हो । यो सम्पूर्ण विधानलाई लत्याउँदै हस्तक्षेप गर्दै जुन ढंगको गतिविधि अहिले देखिएको छ त्यो एउटा विधिवत रुपमा स्वीकार्य छैन । अर्कोतिर जति केन्द्रित भएर महाधिवेशन तयारीमा लाग्नुपर्थ्यो त्यो तयारी पटकै देखिएन ।

महाधिवेशनकै बेला पार्टी सभापतिले विभिन्न विभाग गठन गर्नुभयो, जसको पार्टीभित्र विवाद देखिएको छ । तपाईले यसलाई कसरी लिनुभएको छ ?
– विवाद धेरै थोरै पहिलादेखि नै थियो । तर, त्यो विवादहरुलाई हामीले फेरी पनि बसेर एउटा समायोजन गरेर सहमतिपूर्ण स्थिति निर्माण गर्नुपर्छ । अहिले यत्रो एकलैटी ढंगले देशको विधान मर्यादा तोडेर संविधान र लोकतन्त्रको खोल ओडेर कम्युनिष्टहरु एक दलीय शासन पद्धतितिर उन्मुख छ । यस्तो देशमा चारैतिर भ्रष्टाचार छ, कोभिड महामारी र प्राकृतिक प्रकोपबाट पीडित नेपाली जनताको आर्थनादभन्दा सत्ता संघर्ष र भागभण्डामै सत्ता अल्मलिएको छ । यो स्थितिमा काँग्रेसले एउटा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुको निम्ति जुन भूमिका हुनुपर्थ्यो त्यसलाई सबै मिलेर गरौ भन्ने हाम्रो प्रयत्न हो । हामीले यो प्रस्ताव पनि राखेका हौँ । तर, त्यो प्रस्ताव नसुनिएपछि हामी पनि बाध्य छौ, त्यसको विरोध गर्न ।

विभागमा जो भए पनि काँग्रेसकै नेता कार्यकर्ता त हुनुहुन्छ नि किन यति विरोध ? संस्थापन पक्षको निर्णयलाई अर्काे पक्षले विरोध किन गरिरहनुभएको छ ?
– यो हुँदा व्यक्तिसँगको सरोकारको कुरा होइन । विधि र नियममा पार्टी चल्छ कि मनपरी, काँग्रेस नै हो भनेर चल्छ । लोकतन्त्र भनेको विधिको शासन हो । विधि, पद्धति, प्रक्रिया र नीतिमा केन्द्रित भएर निर्णय गर्नुपर्यो । जो भए पनि काँग्रेस हामी नै हो । उहाँहरुलाई काँग्रेस होइन भनेर पनि भनेका छैनौ । हुन त कतिपय सक्रिय सदस्य नभएका विभागका सचिवदेखि विभिन्न पदमा हुनुहुन्छ । नेपाली काँग्रेसको न्यूनतम मर्यादा सक्रिय सदस्यता हुनुपर्ने । त्यसलाई पनि तोडिएको छ । जो विभागमा हुनुहुन्छ उहाँहरु काँग्रेस होइन त भनेकै छैनौ नि । तर, काँग्रेस हो भनेर विधि, नियम, पद्धति, प्रक्रिया र परम्परा सबै तोड्न पाइन्छ ।

त्यसोभए सभापति शेरबहादुर देउवाजीले विधि, विधान, नियम सबै तोडेर नै विभाग गठन गर्नुभएको हो ?
– हो, एकदमै हो । नेपाली काँग्रेसको विधानमा छ महिनाभित्र महाधिवेशन गर्नुपर्छ । महाधिवेशनको मिति तोकिसकेको अवस्थामा महाधिवेशन भनेको नीतिगत निर्णयको मात्रै थलो होइन । नेतृत्व चयनको पनि थलो हो । अर्को तिर उहाँकै आफ्नो परम्परा त्यसले गर्दा आचरण संहिताको सोझो हस्तक्षेप र उल्लंघन हुन्छ । अर्कोतिर उहँँले नै साढे तीन वर्षभित्र गठन भएको विभाग सुशील कोइरालाको पालामा विरोध गरेको प्रस्ट उदाहरणहरु छन् । यो सम्पूर्ण विषयले गर्दा यो विधि, विधान, पद्धति, नीति, नियम मात्र होइन यो परम्पराको पनि विपरित छ ।

अब पनि महाधिवेशन सारियो भने कहिले हुन्छ ?
– हामी महाधिवेशन सार्ने पक्षमा छैनौ । अब उहाँहरुले कसरी प्रस्ताव गर्नुहुन्छ र त्यसपछि मात्रै हाम्रो प्रतिक्रिया आउँछ ।

पार्टीको नेतृत्व अबको महधिवेशनमा यथावत रहन्छ वा परिवर्तन, के होला ? नेतृत्वका लागि आकांक्षी धेरै देखिनुभएको छ ?
– परिवर्तन हुन्छ । धेरै आकांक्षी देखिनु स्वभाविक हो ।

तपाई पनि नेतृत्वको आकांक्षी हुनुहुन्छ ?
– म आकांक्षी छु ।

कुन पदको लागि ?
– म सभापतिमा लड्छु ।

मधेशमा काँग्रेस किन कमजोर भयो ?
– नेपाली काँग्रेसको उर्वर भूमि र मुख्य शक्ति भनेको मधेश हो । मधेशको आधुनिकीकरण देखिनु लोकतान्त्रिक पक्षमा जुन एउटा सशक्तता थियो त्यो नेपाली काँग्रेसले नै शुरु गरेको हो । नेपालका ठूला–ठूला अन्दोलनहरुको शुरुवात र निरंकुश राणातन्त्रको विरोधको आन्दोलन पनि २००३ सालमा जयप्रकाशजी र राममनोहर लोहियालाई राणाकालिन समयमा थुनिदा पहिलो चोटी त्यहाँका युवाले जेल तोडेर आन्दोलन शुरु गरेका थिए । त्यस्तै २००४ सालको विराटनगर मजदुर आन्दोलन, २००७ सालमा पहिलो चोटी सशस्त्र क्रान्ति नेपाली काँग्रेसको वीरगञ्जबाट शुरु भयो र २००७ सालको क्रान्तिको अन्त्य नेपालगञ्जमै भयो । त्यसकारण नेपाली काँग्रेस र मधेश एकअर्कासँग अन्योन्याश्रित सहयोगी सम्बन्ध रहेको छ । अब अहिले जे कमजोरी छ त्यसलाई हटाएर सशक्त विकास गर्नुपर्छ ।

तपाई काँग्रेस र मधेश एकअर्कासँग अन्योन्याश्रित सहयोगी सम्बन्ध रहेको छ भन्नुहुन्छ । तर, यो कोभिड–१९ को महामारीमा मधेशमा काँग्रेसको उपस्थिति देखिएन नि ?
– हाम्रा साथिहरु अहिले कोरोनाले गर्दा आमसभा गर्ने, भेटघाट गर्ने स्थिति स्वास्थ्य मापदण्डले दिएको छैन । तर, मधेशमा गर्नुपर्ने काम, कर्तव्य काँग्रेसका नेता तथा कार्यकर्ताले गरिरहनुभएको छ ।

कसरी काम गरिरहनुभएको छ । यसको केही उपलब्धि देखिएको छैन नि ?
– त्यहाँ जेजस्तो समस्या छ तिनीहरुलाई प्रतिनिधित्व गर्ने । हाम्रा विभिन्न भातृ संगठनहरु परिचालित नै छन् । तर, एउटा कुरा चाहि के छ भने अहिलेसम्म महामारीको नाममा भइरहेको भ्रष्टाचारको विरोधमा नेपाली काँग्रेस सशक्तरुपबाट एउटा गति विकास गर्नुपर्ने थियो त्यसमा कमजोरी देखिएकै छ । त्यो सत्यलाई म पनि आंशिक रुपबाट तपाईले भन्नुभएको कुरा स्वीकार गर्छु ।

वर्तमान सरकारलाई कसरी मूल्यांकन गर्नुहुन्छ? सरकारको कामकारबाही कस्तो भइरहेको छ? विशेष गरी कोरोना नियन्त्रणमा ?
– सरकारको कार्यक्रम ‘जो हो नबर्सने मेघ, उसैको हुन्थ्यो घर–घर’ अर्थात जो पानी पार्दैन, त्यो पानी नपर्ने मेघ अत्यन्तै धेरै गर्जने हुन्छ, मान्छे तर्साउने हुन्छ । यो सरकारको तीन वर्षको कार्यकाल झण्डै–झण्डै त्यस्तै भएर बित्यो । सुनौला सपना र स्वर्ग जाने भर्याङ बनाउँछु भनेर जुन भ्रमको पुलिन्दा र झुठको खेती गरेर सरकारमा पुगे । तर, अहिलेसम्मको उपलब्धि हेर्ने हो भने भ्रष्टाचारै–भ्रष्टाचारबाट चुर्लुम्म डुबेको स्थिति छ । जनता खान नपाएर भोकभोकै मर्नुपर्ने अवस्था, आत्महत्या गर्नुपर्ने बाध्यता, ७३ जनाभन्दा बढी सुत्केरीले औषधि नपाएर र अस्पतालमा उपचार नपाएर ज्यान गुमाउनुपरेको स्थिति छ । अझै त्यतिमात्रै होइन–विदेशबाट नेपाल फर्केकाहरु जीविकोपार्जनका लागि बाध्यभएर फेरी विदेश फर्किने । विदेशबाट नेपाल आउन चाहनेहरुको अनुचित अव्यवस्थादेखि चारैतिर भ्रष्टाचार, अनियमितताको काण्ड यही सरकारको पालामा भएको छ ।

तर, नेपाली काँग्रेसको सरकार हुँदा पनि भ्रष्टाचार, अनियमिमता त्यति खेर पनि देखिएको थियो भन्ने आरोप छ नि ?
– वर्तमान सरकारको आँट, हिम्मत र तागत छ भने साँचै भ्रष्टाचार विरोधी हो भने यो सबै छानबिन गर, निष्पक्ष । एउटा पूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष पादर्शी तरिकाले छानबिन गरे भइहाल्छ नि । तागत हुनुपर्यो, आत्मबल हुनुपर्यो, विश्वास हुनुपर्यो । वर्तमान सरकार साँचै भ्रष्टाचार विरोधी हुनुपर्यो–मन मस्तिष्कले । अर्को कुरा पहिला भयो भनेर अहिले पनि गर्न पाइन्छ भन्ने होइन । पहिला भएरनै सायद हामी चुनावमा हार्यौं होला । अब यत्रो ठूलो झण्डै दुई तिहाइ नजिक आएको सरकारले आफ्नो शुद्धता कायम गरेर देखाओस् न । खै अहिलेसम्म वाइडबडी काण्डमा के भायो ? न्यारोबडी काण्ड के भयो ? ३३ केजी सुन के भयो ? ओम्नी यती प्रकरणदेखि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियादेखि बुढी गण्डकीसम्म यस्ता अनगिन्ती काण्डै–काण्डमा छानबिन गरेर जनताको अगाडि प्रष्ट पारोस् न । पहिला कसैले कानुन तोड्यो म पनि तोड्छु भन्न पाइन्छ ? अहिले जिम्मेवार सरकार र यत्रो ठूलो मत ल्याएर आएको सरकारले पहिलाका गल्तीहरुलाई सुधारेर नयाँ बाटो लिनुपर्यो नि । पहिला भएकै थियो भने पनि ।

त्यसोभए अब हुने निर्वाचनमा काँग्रेस कसरी अगाडि बढ्छ ?
– काँग्रेसले २०५१ सालमा पनि चुनाव हारेकै हो । २०६४ मा पनि चुनाव हारेकै हो, २०७४ पनि हार्यो । हरेक हारपछि हामी पहिलो पार्टीमा विकसित भएका छौ । फेरी २०७९ मा हामी पहिलो पार्टी हुन्छौ । तर, काँग्रेसभित्र नीतिगत, नेतृत्वगत, संरचनागत परिवर्तन र काँग्रेसमा वैचारिकपूर्ण जागरण र सुदृढ नयाँ काँग्रेस निर्माण गर्नुपर्छ । आर्थिक, सामाजिक न्यायपूर्ण काँग्रेस निर्माण गर्नुपर्छ र लोकतान्त्रिक काँग्रेस निर्माण गर्नुपर्छ । काँग्रेसमा नेता प्रधान होइन नीति प्रधान, व्यक्ति प्रधान होइन विचार प्रधान । संस्था र पारदर्शिता विधिसम्मत काँग्रेसको निर्माण गरी हामी २०७९ को निर्वाचनमा पहिलो पार्टी हुन्छौ ।

प्रकाशित : असोज ९, २०७७

प्रतिक्रिया दिनुहोस्