आज सुदूरपश्चिममा ३९ जना कोरोना संक्रमित थपिए



धनगढीः आज सुदूरपश्चिम प्रदेशमा ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ३ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५२० जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३४९ जनाको परीक्षणमा कैलालीका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार धनगढी उप-महानगरपालिकाका विभिन्न वडाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लम्कीचुहा नगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका १ जना र जानकी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै डोटी जिल्ला अस्पताल (कोभिड-१९) प्रयोगशालामा १२९ जनाको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठका अनुसार डोटीको शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका २-२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पताल (कोभिड-१९) प्रयोगशालामा ४३ जनाको परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालका अनुसार बैतडीका पुर्चौडी नगरपालिकाका ९ जना, पाटन नगरपालिका १ जना तथा डडेल्धुराको नवदुर्गा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित व्यापारीको सम्पर्कमा आएका एक परिवारका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उप-महानगरपालिका-११ का एक परिवारका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार कोरोना संक्रमण पुष्टि भएका १० जना एकै परिवारको सदस्य रहेको धनगढी उप-महानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए । वडा नं.११ का कोरोना संक्रमित व्यापारीको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक ट्रेसिङ गर्दा एकै परिवारका १० जनामा संक्रमण पुष्टि भएको उपाध्यायले बताए ।

धनगढीमा कार्यरत थप ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरीएको परीक्षणमा थप ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्