सचिव काफ्लेलाई हाजिरी गर्न अवरोध, छोटो समयमै सचिव फेर्ने परिपाटी गलत



जनकपुरधामः प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले केहि दिन अघि केन्द्र सरकारले प्रदेश २ मा पटक पटक सचिवको सरुवा गरिरहेको भन्दै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका थिए ।

मन्त्री साह प्रदेश २ मा कर्मचारी अभावलाई लिएर आक्रोश पोखिरहँदा उनकै मन्त्रालयमा सरुवा भएर आएका एक सचिवलाई हाजिरी हुन दिइएको छैन । श्रोतका अनुसार मन्त्री अनुकुलको सचिव नपठाइएकोले हाजिरी हुन नदिइएको हो । पटक पटक प्रदेश २ सरकार र संघ सरकार बिचको टकराव बढ्दै गईरहेको समयमा सचिवलाई हाजिरी हुन नदिनुले यो टकराव झन बढ्ने आँकलन गरिदैंछ ।

प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा भइ सचिव सम्झना काफ्ले बुधबार दिउँसो हाजिरी हुन पुगेकी थिइन् । सचिव काफ्ले हाजिरी हुनका लागि पुग्दा कर्मचारीहरुले सामान्य भेटघाटको कार्यक्रम समेत राखेका थिए । सोही भेटघाटको समयमा मन्त्री साहका स्वकीय सचिव लगायतका व्यक्तिहरुले हो-हल्ला गर्दै हाजिरी रजिष्टर समेत खोसेको एक कर्मचारीले बताए । उनका अनुसार मन्त्रीको सचिवालयका सदस्यहरुले सचिवको कार्यालयमा ताल्चा लगाएपछि मन्त्रालयको वातावरण बिग्रिएको थियो । मन्त्रीकै आदेशमा उनलाई हाजिरी हुन नदिइएको ती कर्मचारीले बताए । कर्मचारीले निर्देशन नमानेपछि मन्त्री साहले बाहिरका मान्छे बोलाएर सचिवलाई हाजिर हुनबाट रोकेका कर्मचारीको आरोप छ ।

मन्त्रालयका निमित्त सचिव विजय महतोको अगुवाईमा सामान्य भेटघाट कार्यक्रम बिथोलिएपछि सचिव काफ्लेलाई मलिनो अनुहार सहित फर्किन बाध्य हुनु परेको थियो ।

यता सचिव काफ्लेले आफू हाजिरी हुन पुगेको समयमा मन्त्रालयमा हाजिरी हुने वातावरण नरहेकोले फर्किनु परेको बताइन् । यस विषयमा आफू प्रमुख सचिव अर्जुन पोखरेलसंग छलफल गरेको जानकारी गराउँदै उनले भनिन्,‘यही अवस्था रहे म यहाँ बस्दिन ।’ आफूलाई हाजिरी हुनका लागि पत्र नदिइएसम्म अब यहाँ नआउने उनले दुःखेसो सुनाईन् ।

यता यस विषयमा मन्त्री साहलाई जिज्ञासा राख्दा मन्त्रालयमा सचिव हाजिरी हुन पुग्दा भएको विवादको विषयमा जानकारी रहेपनि छलफल पश्चात मात्रै केही जानकारी गराउने प्रतिक्रिया दिए । उनले संघ सरकारको छोटो समयमै सचिव फेर्न परिपाटी गलत रहेकोे बताए । उनले संघीय सरकारले दुई तीन महिना नबित्दै सचिव सरुवा गर्ने गरेको विरोधमा आफूले हाजिर हुन नदिएको प्रतिक्रिया दिए ।

उनले आफु मन्त्रालयमा नरहेको समयमा सचिव काफ्लेलाई सचिवालयका कर्मचारीहरुले हाजिरी हुन नदिएको स्वीकार गर्दै आफुहरुलाई ३-३ महिनाको सचिव आवश्यक नरहेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

आफ्नो कार्यकालमा अहिलेसम्म ६ जना सचिवहरुको सरुवा भईसकेको बताउँदै मन्त्री साहले भने,‘यस्तै अवस्था रहिरहयो भने मन्त्रालयको कामकाज दु्रत गतिमा अगाडी बढाउन मुस्किल छ । एउटा सचिवले निती तथा कार्यक्रम र योजना बनाउँछन् । त्यो कार्यान्वयन नहुँदै फेरि अर्को सचिव आईहाल्छन् । अनि हामीले कसरी काम गर्ने त ?’

संघिय सरकारले यस्ता समस्याहरुलाई मध्यनजर गर्दै दिघ्रकालिन समाधान खोज्नुपर्ने आवश्यकता छ, उनले भने,‘कार्य सम्पादन गर्ने काम कर्मचारीको रहेकोले ३÷३ महिनामै कर्मचारी सरुवा भयो भने प्रदेशमा अस्थिरता कायम भएको छ ।’

मन्त्रालयमा सचिव हाजिरी हुन नदिएको घटनाको केही घण्टा नबित्दै मन्त्री साहले ‘आफु कसैको आदेशपालक नभई जनादेशको पालना गर्ने र यो अवस्था रहे आफू पद छोड्न समेत तयार रहेको’ आशय सहितको पोष्ट सामाजिक सञ्जालमा गरेका छन् ।

प्रकाशितः ८ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्