पहिरोले बस बगायो, एकको मृत्यु ६ जना घाइते



काठमाडौंः नवलपुरको दाउन्नेमा गुड्दै गरेको बस पहिरोले बगाएको छ ।

भीरबाट खसेको पहिरोले बस बगाउँदा १ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेस्थित पहिरोसँगै सडकबाट बस खस्दा बसमा सवार रुकुम पश्चिमको आठबीसकोट गाउँपालिका-१० का २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरका अनुसार बस भीरबाट खस्दा हरिशचन्द्र गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारका क्रममा उनलको मृत्यु भएको थियो ।

हिजो (बिहीबार) साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ७९४० नं.को बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । त्यसमा परी ६ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना यात्रु रहेका थिए । अन्य सामान्य घाइते भएको र गएराति नै घर फर्किएको प्रहरीले जनाएको छ ।

त्यस्तै दाउन्ने सडकखण्डमा पहिरो जाँदा राजमार्ग बन्द भएको छ । गएराति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन गरिए पनि पुनः पहिरो खस्दा आज बिहान ३ बजेदेखि सडक अवरुद्ध रहेको थियो भने अहिले पहिरो पन्छाएर राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ । पहिरो पन्छाउने काम जारी छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्