कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका !



सिकागो : कोरोना भाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल मार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुको संख्या धेरै भएकाले भ्रम फैलिएको हो ।

अमेरिकीहरुको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाका बारेमा गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ । सर्वेक्षणमा अमेरिकाभरीका २१ हजार जना सहभागी भएका थिए । सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो ।

सर्वेक्षणमा सहभागी भएकाहरुमध्ये झण्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ताहरु, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताहरुले ती सामाजिक सञ्जालमा आएका सूचनाहरुमा विश्वास गर्ने गरेको बताएका थिए । अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयहरुको संजाल मार्फत् सर्वेक्षण गरिएको जनाइएको छ ।

उनीहरुका अनुसार ८ प्रतिशत उत्तरदाताहरुले फेसबुकको म्यासेन्जरबाट आफूहरुले सूचना पाउने गरेको जवाफ दिएका थिए । त्यसैगरी सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्ताहरुमध्ये चार प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा सहभागीहरुले सामाजिक सञ्जालहरुसँगै स्थानीय टेलिभिजन, समाचारमुलक अनलाईन, एप्स, सामुदायिक पत्रिका लगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए । सर्वेक्षणबाट प्राप्त विवरणहरुलाई नर्थवेस्ट युनिभर्सिटी (एनयु) को वेभसाइटमा बुधबारदेखि राखिएको छ ।

“सर्वेक्षणले सामन्यतः कोरोनाविरुद्धमा भ्रम फैलाउनका लागि सामाजिक सञ्जालहरुले सहयोग गरेको देखाएको छ,” एनयुको राजनीति शास्त्रका प्राध्यापक जेम्स ड्रुकम्यानले भने ।अध्ययनकर्ताहरुका अनुसार तुलनात्मक रुपमा बृद्ध व्यक्तिभन्दा ४५ बर्षभन्दा कम उमेरका धेरै व्यक्तिहरुले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ ।

सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्कको प्रयोगका बीचमा बलियो सम्बन्ध रहेको पनि देखाएको छ । गलत सूचनाको शिकार भएका ११ जनामध्ये आठ जनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणका क्रममा भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्