३ दिनदेखिको वर्षाका कारण अधिकांश ठाउँहरु जलमग्न



जनकपुरधामः लगातार तिन दिनदेखिको वर्षाका कारण धनुषाका अधिकांश ठाउँहरु जलमग्न भएका छन् ।

बुधबारदेखि भईरहेको लगातारको वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका प्रायः सबै वडाका अधिकांश घरहरुमा पानी प्रवेश गरेको छ भने मुल सडकहरुमा समेत २ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवातजावतमा पनि समस्या उत्पन्न भएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मुसहरी टोल, सरस्वती नगर, मिथिला नगर, आनन्द नगर, बलवा टोल, बसहिया, सोनापाडा, धत्ता टोल लगायतका स्थानहरुमा पानी जमेको छ ।

त्यस्तै लगातारको वर्षाका कारण यहाँका सरकारी कार्यालयहरु राष्ट्रिय समाचार समिति, आन्तरिक राजश्व कार्यालय, हुलाक कार्यालय, परिवार नियोजन संघ, महिला विकास केन्द्र, वन निर्देशनालय लगायतका परिसर जलमग्न भएका छन् ।

सडकमा कालोपत्रे र पेटी निर्माणका क्रममा ढलमा इँट्टा, गिट्टी र बालुवा पसेका कारण पानीको निकास अवरूद्ध भएको हो । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेशसभा भवन, प्रादेशिक अस्पताल, रेडक्रस सोसाइटी, बाह्रविघा मैदान, रामानन्दचोक लगायतका स्थानहरु समेत जलमग्न भएका छन् ।

उता महोत्तरीको सदरमुकाम जलेश्वर बजारको मुख्यचोक र सरकारी कर्यालयहरुमा समेत पानी जमेको छ । जलेश्वरस्थित नापी कार्यालय, मालपोत कार्यालय, लोकसेवा आयोगको कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका स्थानमा पानी जमेको छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्