आज १ हजार ३ सय १३ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?



काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आज (शुक्रबार) प्रवक्ता डा.जागेश्वर गौतमले थपिएका कोरोनाका संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६१४ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।

नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार २ सय ८९ जना छन् भने ६ हजार ४६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताएका छन् ।

कुन जिल्लामा कति संक्रमित ?
प्रदेश–१ को खोटाङमा ३, झापामा १४, ताप्लेजुङ र तेह्रथुममा १-१, मोरङमा ६९, र सुनसरीमा २८ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रदेश-२ को धुनषामा ११, पर्सामा १५, बारामा १०, महोत्तरीमा ५५, रौतहटमा १, सप्तरीमा ३, सर्लाहीमा ३९ र सिरहामा १३ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५०३ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ७, चितवनमा ६७, दोलखामा १, धादिङमा ४, नुवाकोटमा ३, भक्तपुरमा ५१, मकवानपुरमा ९, रामेछापमा ४, ललितपुरमा ९१, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा १६, तनहुँमा १७, नवलपरासी पूर्वमा २४, लमजुङमा ५, बाग्लुङमा ८ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश-५ को अर्घाखाँचीमा ४, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ९, नलवपरासीमा २, पाल्पामा ६, प्युठानमा १३, बर्दियामा ६, बाँकेमा ३२ र रुपन्देहीमा ६१ जनामा कोरोना पाइएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, सल्यानमा १४, सुर्खेतमा ९, सुदूरपश्चिमको अछाममा २५, कञ्चनपुरमा १, कैलालीमा ६, डोटीमा २, दार्चुलामा १ र बझाङमा २५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्