उद्योग वाणिज्य महासंघको साधारणसभा गर्न अनुमति



काठमाडौं : सरकारले साधारणसभा गर्न नेपाल उद्योग वाणिज्य महासंघलाई अनुमति दिएको छ ।

महासंघको प्रस्ताव अनुसार नै गृह मन्त्रालयले स्वीकृति दिएको अध्यक्ष भवानी राणाले जानकारी दिएकी छिन् । चुनावमा २५ जनाभन्दा बढी सहभागी हुन भने नपाइने पत्रमा उल्लेख छ ।

महासंघको पदाधिकारी बैठकले साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गर्दै अनुमतिका लागि गृह मन्त्रालयसँग स्वीकृति माग गरेको थियो । पदाधिकारीको निर्णयको अनुमोदन कार्यसमिति बैठकले गर्नेछ ।

कार्यसमिति अगाडि नै सरकारसँग महासंघले अनुमति लिएको हो । पदाधिकारीको निर्णय अनुमोदन गर्न असोज दोस्रो साता कार्यसमितिको बैठक बस्ने छ । महासंघको ५४औं साधारण सभा चुनावी सभा पनि हो । साधारण सभा अनलाइनबाट गर्ने र चुनाव प्रत्यक्ष रुपमा गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको थियो ।

महासंघको साधारणसभा र चुनावको मोडालिटीबारे प्रस्ताव गर्न एक समिति नै गठन गरिएको थियो । उक्त समितिले साधारण सभा अनलाइनबाट र चुनाव प्रत्यक्ष वा अनलाइन भोटिङबाट गर्न सकिने प्रस्ताव गरेको थियो । समितिले जिल्ला-नगरको प्रदेशमै वा काठमाडौंमा एसोसिएट र वस्तुगतसहितसँगै पनि गर्न सकिने सुझाव दिएको थियो ।

जिल्ला–नगर, वस्तुगत र एसोसिएटतर्फको काठमाडौं तर फरक फरक स्थानमा गरिने भएको छ । ठुलो भेन्यु पाइएको अवस्थामा भने एउटै ठाउँमा तर एक पटकमा २५ जनाको संख्या नबढाइ गर्ने निर्णय महासंघले यसअघि गरेको छ । गत चैतमा हुनुपर्ने साधारणसभा (कोभिड-१९) का कारण पटक–पटक सर्दै आएको छ ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्