जिपसँगै बेपत्ता भएका फ्युज शाखा प्रमुख पौडेलको शव फेला



कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकामा कोइली नदीले विद्युत प्राधिकरणको जिप बगाउँदा बेपत्ता भएका फ्युज शाखा प्रमुखको शव फेला परेको छ ।

उनको शव फेला परेसँगै मृत्यु हुनेको संख्या ३ पुगेको हो । जिपसँगै बेपत्ता परेका फ्युज शाखा प्रमुख कृष्ण पौडेलको शव शुक्रबार फेला परेको छ । आज दिउँसो ३ बजे बुद्धभूमि नगरपालिका २ कुटीस्थित वाणगंगा नदीमा फेला परेको छ ।

वनमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाणगंगा नगरपालिकाका स्थानीयले शवको पहिचान गरेका छन् । पौडेल शितगंगा ३ स्थायी ठेगाना भई हाल बाणगंगा २ जितपुर बस्दै आएका थिए ।

शव फेला परेको स्थल घटना स्थलदेखि १० किमि दक्षिण रहेको सशस्त्र प्रहरी २८ नं.गणका गणपति धुव्र बहादुर कार्कीले बताए । बाणगंगा नदी किनारमा रहेका ढिस्कोमा शव अड्किएर रहेको थियो । बुधबार दिउँसो ४ बजे विद्युत मर्मत गरी फर्किँदै गरेको बेला बा १ ञ १०८९ नं.को जिपलाई कोइली खोलाले बगाएको थियो ।

बाणगंगा नगरपालिका वडा नं.७ र ९ को सिमाना पर्ने मोतीपुर कजवे तर्ने क्रममा जिप बगाएको थियो । जिपमा ६ जना सवार थिए । तीमध्ये ३ जना बाँच्न सफल भएका थिए । विद्युतका २ कर्मचारीसहित ३ जना जिपसँगै बेपत्ता भएका थिए ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र विद्युत् प्राधिकरणका गोताखोर टोली प्रयोग भएको थियो । सवारी चालक माधव पाण्डेको शव बुधबार घटनास्थलमा फेला परेको थियो । शितगंगा १३ सिमलपानीका केशव भाट क्षत्रीको शव घटना स्थलदेखि ६ किमि टाढा बाणगंगा ६ सुठौलीमा फेला परेको थियो ।

प्रकाशितः ९ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्