रुपन्देहीमा बाढीले दर्जन घर बगायो



रुपन्देही : जिल्लाको सुखौरा खोला, तिनाउ नदी र रोहिणी नदीमा बाढी आएपछि रुपन्देहीको विभिन्न स्थानका वस्तीहरु डुबानमा परेका छन् भने बाढीले दर्जनौ घर बगाएको छ ।

तिलोत्तमा नगरपालिकामा विभिन्न स्थानमा ७ वटा घर बाढीले बगाएको छ । बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर, बाख्राको खोर र केही सवारी साधन बगाएको स्थानीयले बताएका छन् ।

यसैगरी तिनाउ नदीको बाढीले बुटवल उपमहानगरपालिका– १७ रानीगञ्ज मनकामना टोलमा एउटा घर र देवदहको चरंगेमा एउटा घर खोलाले बगाएको छ ।

साथै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीका बुटवल, तिलोत्तमा, देवदह र लुम्बिनी सांस्कृतिक नगरपालिकामा बाढीले क्षति पु¥याएको छ ।

रोहिणी नदी बस्तीतिर पसेपछि तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकमा करिब ५० घर डुबानमा परेका छन् । रोहिणी नदी र सुखौरा खोलाको बीचमा रहेको उक्त बस्तीका बासिन्दा रातभर थुनिएका र बिहान भएपछि सुरक्षित स्थानमा सारिएको तिलोत्तमा नगरपाकिलाका प्रमुख बासुदेव घिमिरेले बताए ।

बस्तीमा बाढी पसेपछि मध्यरातदेखि नै नगर प्रमुख घिमिरेको नेतृत्वमा जनप्रतिनिधि, सुरक्षाकर्मी, नगर प्रहरी, टोल विकास संस्थाका पदाधिकारी उद्धारका लागि पुगेका थिए ।

त्यस्तै तिलोत्तमामै सुखौरा खोलाको बाढीले सुखौरा खोला पुल नजिक विद्युत पोल ढाल्दा विद्युत अवरुद्ध भएको छ । साथै बुटवलको रानीगञ्जमा बाढीले विद्युतको पोल बगाएको छ । देवदहको भलुहीमा ५ वटा घर डुबानमा परेका छन् ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्