ललितपुरमा तीनै जना मेयरमा कोरोना पोजेटिभ



ललितपुर : ललितपुरमा तीनै जना मेयरमा कोरोना संक्रमण देखिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठमा कोरोना पोजेटिभ देखिएको हो ।

मेयर श्रेष्ठ ११ दिनदेखि किस्ट अस्पतालको आइसोलेसनमा छन् । उनको दोस्रो पटक परीक्षण गर्दा पनि कोरोना देखिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर महर्जनका अनुसार उनलाई बिहीबार दिउँसो २ बजेदेखि अत्यधिक ज्वरो र घाँटी दुखेर गाह्रो हुन थालेको हो ।

महर्जनले हात उठानसमेत गाह्रो भएको र अत्यधिक ज्वरो आएको बताए । शुक्रबार रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नै घरमा बस्ने व्यवस्था मिलाएका छन् ।

त्यस्तै दुई पटक कोरोना परीक्षण गर्दा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले दुई पटक नै पोजेटिभ आएको थियो । उनका अनुसार उनी गत सोमबारदेखि घरमै आइसोलेसनमा बसेका छन् । उनमा ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने लक्षण देखिएको छ ।

महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई भने ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको छ ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्