‘संक्रमित गर्भवतीलाई सुत्केरी गराउन सकिन्छ, फरक पर्दैन : डा. संगीता मिश्र



गर्भावस्था एक जटिल अवस्था हो । यस बेलामा शिशुको विकासका लागि विशेष ख्याल राख्नुपर्ने हुन्छ । झन् VF गराएर गर्भ बसेको छ भने त दम्पतिहरु हरेक सा–साना कुराको ख्याल गर्छन् किनभने निकै प्रयास पश्चात गर्भ बसेको हुन्छ । तर, यस्तै अवस्थामा विश्वभर कोभिड–१९ को महामारीले गर्भवती महिलामा झन बढी त्रास फैलिएको छ । यस अवस्थामा थापाथलीस्थित यस प्रसूति तथा स्त्री रोग अस्पतालमा गर्भवती महिलाको उपचार कसरी भइरहेको छ ?, गर्भवती महिलाको उपचारको लागि कस्तो व्यवस्था छ ?, उनीहरुको उपचारको लागि छुट्टै भवनको व्यवस्था छ कि छैन ? आमा कोरोना संक्रमित भए पेटको बच्चामा संक्रमणको डर कति हुन्छ ? लगायतका विषयमा द नेपालटपकी संवाददाता आशा साहले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीकी निर्देशक डा. संगीता मिश्र कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश :

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना महामारीमा पनि सेवा सुचारु नै छ । यो अवस्थामा कसरी सेवा दिइरहनुभएको छ ?
– हामीले यो अवस्थामा आफ्नो सम्पूर्ण कर्मचारीलाई दुई भागमा विभाजन गरेका छौ । कतिपय कर्मचारी कोभिड अस्पतालमै सेवा दिइरहनुभएको छ र उहाँहरु अलग नै बस्नुहुन्छ । अन्य कर्मचारी ननकोभिड बिरामीको उपचारमा नियमित खटिरहनुभएको छ ।

कोरोना महामारीमा सेवा दिन कतिको सजिलो वा गाह्रो भएको छ ?
– अलि गाह्रो भइरहेको छ । हाम्रा स्वास्थ्यकर्मीहरु पनि संक्रमित हुनुभएको हुनाले हामीलाई अलि बढी काम गर्न परेको अवस्था छ । त्यसमाथि सेवाग्राहीको चाप पनि धेरै नै बढेको छ । त्यहि भएर अलि गाह्रो चाहि छ ।

स्वास्थ्यकर्मीलाई पीपीई र अन्य सुरक्षा सामग्रीहरुको उपलब्धता कस्तो छ ?
– स्वास्थ्यकर्मीहरुलाई सबै खाले सेवा उपलब्ध छ । पीपीई नभइकन काम गर्न लगाएकै छैनौ । त्यही भएर त्यसको सुनिश्चितता हामीले गरेका छौ । बजारबाट पनि किनेका छौ भने मन्त्रालयबाट पनि उपलब्ध गराइएको छ । त्यही भएर यी सामग्रीको उपलब्धता छ ।

कोरोना महामारीमा गर्भवती महिलालाई कसरी उपचार दिइरहनुभएको छ ? अहिलेसम्म कोभिड संक्रमित महिलाको सुत्केरी गराउनुभएको छ कि ?
– कोभिड संक्रमित महिलाको सुत्केरी र शल्यक्रिया (अप्रेसन) सबै सुचारु छ । संक्रमणले गर्दा गर्भवतीलाई सुत्केरी गराउन फरक चाहि पर्दैन । त्यही भएर नर्मल प्रक्रियाअनुसार जसलाई जे उपचारको आवश्यकता छ त्यही हिसाबले हामीले सुत्केरी गराइरहेका छौ ।

कोभिड महामारीमा गर्भवती महिलाहरु अस्पताल आउन कतिको डराउने गर्नुभएको छ ? दैनिक कतिको संख्यामा गर्भवती महिला आउने गर्नुभएको छ ?
– हामीकहाँ भर्ना हुनुभएका पुरानै महिलाहरु हुनुुहुन्छ, जस्तो ६० देखि ७० । तर, ओपिडीमा महिलाहरुको संख्या पहिलाभन्दा १० देखि १५ प्रतिशत कम चाहि भएको छ ।

कोरोना संक्रमित भएका गर्वभती महिलाको लागि छुट्टै व्यवस्था गर्नुभएको छ कि ?
– हजुर, छुट्टै व्यवस्था छ ।

कहाँ व्यवस्था गर्नुभएको छ ?
– प्रसूतिकै अर्को कुपण्डोलमा एउटा भवन छ, त्यही हामीले व्यवस्था मिलाएका छौ ।

आमा कोरोना संक्रमित भए पेटको बच्चामा संक्रमणको डर कति हुन्छ ? गर्भवती महिलाका लागि अहिलेको जोखिमपूर्ण अवस्थामा तपाईको के सुझाव छ ?
– कोभिड संक्रमित महिलाबाट बच्चामा सर्ने अहिलेसम्म कुनै तथ्य फेला परेको छैन । त्यही भएर बच्चालाई खासै असर पर्दैन । तर, आमालाई संक्रमित भएपछि आमाको आफ्नो स्वास्थ्यमा चाहि असर पर्छ । यदि फोक्सोको संक्रमण बढी भयो भने पछि आमालाई पनि गाह्रो हुने अवस्था आउँछ ।

गर्भवती महिलाले कोरोना जोखिममा के गर्न हुने र के गर्न नहुने हो ? केही टिप्स ?
– जुन सरकारले भनिरहेको छ सामाजिक दूरी कायम गर्ने, मास्कको उचित प्रयोग गर्नुपर्छ, भिडभाड भएको ठाउँमा जानुभएन । सकेसम्म आफ्नो सरसफाइमा ध्यान दिने । आफ्नो दैनिक प्रयोग गर्ने सामान घरका अन्य व्यक्तिसँग शेयर गर्नु भएनन् । आवश्यकता नभएको खण्डमा घरबाट बाहिर निस्कनु भएन । घरको सदस्यहरुसँग पनि सामाजिक दूरी कायम गर्नुपर्छ ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्