बलात्कृत किशोरीलाई आर्थिक प्रलोभन दिई घटना मिलाउन खोज्ने एक व्यक्ति पक्राउ



जनकपुरधाम : सामुहिक बलात्कार गरिएको किशोरीलाई आर्थिक प्रलोभन दिँदै घटना मिलाउन दबाब दिने व्यक्ति पक्राउ परेका छन् ।

पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर घटना मिलाउन दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिने धनुषाधाम नगरपालिका–२ धर्मपुरका सत्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीको सामूहिक बलात्कारमा संलग्न श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा सत्यनारायणले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर कारवाही प्रक्रिया अगाडी नबढाउन धम्की दिएका थिए ।

शनिवार विहानै पक्राउ परेका यादवलाई हिरासतमा राखि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए । पक्राउ परेका यादवले पीडित किशोरीकी आमा बुवालाई गाउँ नजिकैको विद्यालयमा बोलाएर घटना मिलाउन दबाब दिएको बताइएको छ ।

धनुषाको धनुषाधाम नगरपालिका–२ धमौरा पोखरी नजिकै भदौ १ गते बेलुकी करिब ६ बजेर ४५ मिनेटमा धनुषाधाम नगरपालिका–५ नौसयबिघाबाट आफ्नो गाउँ जाँदै गर्दा स्थानीय १०/१५ जना युवाहरु घेराउ गरि किशोरीसँगै रहेका दुई युवालाई कुटपिट गर्दै सडकमा बन्धक बनाएर किशोरीलाई करिब ३ किलोमिटर पर धान खेतमा लगेर सामूहिक बलात्कार गरेका थिए ।

दिदीको घरबाट आफ्नो दुईजना दाजुसँगै घर गईरहेका बेला दुई वटा मोटरसाईकलमा पिछा गर्दै धरमपुर नजिक पुगेपछि युवतीका दुबै दाजुलाई कुटपिट गरी तिनिहरुले उसको सामूहिक बलात्कार गरेका थिए ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्