संघीय सरकारले प्रदेश सरकारको अस्तित्व धरापमा पार्न खोज्यो : राज्यमन्त्री यादव



जनकपुरधाम : प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले संघ सरकारले मनोमानी ढंगले कर्मचारी सरुवा गर्दै आएको आरोप लगाएका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा भएको सचिव हाजिरी प्रकरणको २ दिन नबित्दै मन्त्री यादवले संघ सरकारको यस्तो रवैयाप्रति आक्रोश पोखेका हुन् । उनले संघीय सरकारले तिन÷तिन महिनामै सचिवहरुको सरुवा गरिरहेकोले मन्त्रालयको कार्य सञ्चालनमा कठिनाई भएपछि सांकेतिक विरोध स्वस्प सचिव सम्झना काफ्लेलाई हाजिर हुन नदिइएको हुनसक्ने बताएका छन् ।

कृषि मन्त्रालयमा सरुवा भएर आएकी सचिव काफ्लेलाई हाजिरी हुन नदिएको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिका संयोजक समेत रहेका राज्यमन्त्री यादवले भने,‘मन्त्रालय भित्र भएको घटना निन्दनीय छ । संघीय सरकार मातहत रहेका अन्य कर्मचारीहरु समेत यस मन्त्रालयमा आएको र बाहिरबाट भनिएको जस्तो मान्छेहरु आए÷नआएको बारे आफुहरुले छानविन गर्न विभिन्न घटना परिघटना बारे जानकारी लिइरहेका छौं ।’ सचिव काफ्लेलाई सरुवा भएर आएपछि समन्वय गर्नुपर्दथ्यो भन्दै उनले भने,‘सचिव ज्यूले मुख्यमन्त्री, मन्त्रीलगायत कसैसँग पनि समन्वय नै गर्नु भएन, सोझै कार्यालयमा हाजिर हुन आउनुभयो ।’

राज्यमन्त्री यादवको संयोजकत्वमा गठित समितिमा निर्देशक रतनकुमार झा र जागेश्वर यादव सदस्य रहेका छन् । पशु सेवा विभागबाट प्रदेश २ को कृषि मन्त्रालयमा सरुवा भएर गएकी सचिव काफ्ले असोज ७ गते हाजिर हुन मन्त्रालय गएको बेला भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको निजी सचिवालयका कर्मचारीहरुले बाहिरका व्यक्तिहरुलाई बोलाएर सचिव काफ्लेलाई मन्त्रालयमा हाजिरी हुनबाट रोकेको आरोप लगाइएको छ ।

यता, कर्मचारीहरुले भने मन्त्रालय बाहिरका मान्छे मन्त्रालयमा प्रवेश गरि कर्मचारीहरुलाई दुर्व्यवहार गर्नुका साथै सचिवको कार्यकक्षमा ताला लगाउनु अपराधिक काम भएकोले घटनामा संलग्न दोषीलाई पहिचान गरि कारवाही गर्न माग गरेका छन् ।

प्रकाशित : असोज १०, २०७७

प्रतिक्रिया दिनुहोस्