मकवानपुरमा बेवारिसे दुई शव फेला



मकवानपुरः शनिबार खोलाले बगाएको अवस्थामा दुई वटा शव मकवानपुरमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान हेटौंडा उपमहानगरपालिका र कैलाश गाउँपालिकामा पर्ने खोलामा बेवारिसे शव फेला परेको हो ।

हेटौंडा उपमहानगरपालिका-१९ स्थित ज्यामिरे खोलामा एक महिला र कैलाश गाउँपालिका-५ र १ नम्बर वडाको सीमाना विमिरे खोलामा एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

विमिरे खोलामा भेटिएको शवबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पालुङको टोली त्यहाँ जाँदै गरेको र घटनाबारे बुझ्ने रानाले बताए । घटनास्थल पुग्न इलाकाबाट ४ घण्टा लाग्ने हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हेटौंडा-१९ ज्यामिरे खोलामा भेटिएको शव बारे बुझ्नका लागि प्रहरी चौकी नेवारपानीबाट टोली गइसकेको र शव अन्दाजी ४५ वर्षीया महिला भएको रानाले बताए । शवबारे थप जानकारी प्राप्त नभएको र अनुसन्धान जारी रहेको भनाइ छ ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्