हवाई जहाजबाट बाजुरा पुगेका शिक्षकमा कोरोना पुष्टि



बाजुरा : कोरोना शुन्य भनिएको बाजुरामा पछिल्लो समय धनगढीबाट बाजुरा पुगेका एक जनामा कोरोना पुष्टि भएको छ ।

गत मंगलबार धनगढीदेखि बाजुरामा गएको समिट एयरको जहाजमा आएका स्वामीकार्तिक खापर गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

कोरोना परीक्षणका लागि सेती प्रादेशीक अस्पताल धनगढीमा स्वाव संकलन गराए पनि बाजुरा पुगेपछि मात्र रिपोट आएर पुष्टि भएको हो । रिपोर्ट पोजेटिभ आएपछि अहिले उनलाई सेल्फ आइसोलेसनमा राखिएको छ ।

सो हवाई जहाजमार्फत आएका अन्य शिक्षक र स्थानियलाई पनि घरमा सुरक्षित एकान्त वासमा वस्न भनिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीका अनुसार सोही जहाजमार्फत गएका स्वामीकार्तिक खापर गाउँपालिकाका अन्य ८ जनालाई घरमै आइसोलेसनमा वस्न आग्रह गरिएको बताएका छन् ।

हवाई जहाजमा सँगै आउँदा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उनिहरुलाई एकान्तवासमा वस्न र कुनै स्वास्थ्य समस्या देखिएमा समयमै जानकारी गराउन सूचित गरिएको उनले बताएका छन् ।

त्यस्तै, ४ गतेबाट विद्यालय खुलेसँगै विद्यालयमा फर्किएका शिक्षकहरुमा समेत कोरोना संक्रमण देखिएको स्थानियको भनाई छ । हवाई र सडक यातायात खुकुलो भएपछि मानिसको आउजाउ बढेकाले यसअघि कोरोनाका संक्रमित शून्य भईसकेको बाजुरामा पुनः संक्रमित देखिएकाले सचेत रहन र आवश्यक दुरी कायम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. दयाकृष्ण पन्तले कारोनाको रिपोर्ट पोजेटिभ आएको जानकारी प्राप्त भएको र स्थानिय तहले स्वावको संकलन गरेर पठाउने ब्यवस्था गरेमा आफू धनगढीमै रहेकाले आवश्यक समन्वय गर्न सकिने बताएका छन् ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्