३२ क्लबको सहभागितामा फुटबल प्रतियोगिता सम्पन्न, प्रशासन बेखबर



धनगढी : विश्वमा कोरोना महामारी कायम रहेको बेला कैलालीका ग्रामिण क्षेत्रमा क्लब स्तरीय फुटबल प्रतियोगिता भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका १० उदाशिपुरमा असोज २ गतेदेखि खुल्ला फुटबल प्रतियोगिता भएको थियो । कैलाली प्रशासन भने बेखबर रहेको स्थानियको आरोप छ । फुटबल प्रतियोगिता रोक्नुपर्ने ठाउँमा गाउँपालिकाले नै सघाएको उनीहरुको भनाइ छ । ३२ वटा क्लबको सहभागितामा प्रतियोगिता भएको हो ।

भिडभाड गर्न र फुटबल प्रतियोगिता गर्नु हुँदैन भनेर सम्झाउनु पर्ने ठाउँमा वडा कार्यालयले प्रतियोगिता गर्न सहयोग गरेकोे बताइएको छ । आज (शनिबार) सम्पन्न प्रतियोगितामा वडा अध्यक्ष पदम बहादुर ऐर सहभागि थिए । उनले कोरोनालाई बेवास्त गरेको देखियो । एक स्थानियले भने-‘प्रतियोगितामा कोरोनासम्बन्धि सुरक्षा सजगता केही अपनाईएको छैन, आयोजक, दर्शक र खेलाडी सामान्य अवस्थामा जस्तै गरि प्रतियोगितामा सहभागी छन् ।’

प्रतियोगितामा पुर्णागिरी युवा क्लब, कैलारी २ बसौटीले १-० गोल गरी प्रथम भएको छ । जनजागरण वहुउदेशीय युवा क्लब, गौरीगंगा ११ उदाशीपुर दोस्रो भएको छ । प्रथम र दोस्रो हुनेले क्रमशः ८ र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रकाशितः १० असोज, २०७७

प्रतिक्रिया दिनुहोस्